पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलकमा असाधारण काम गरेको दाबी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । एमालेको नीति, काम र गन्तव्य एकदमै सही दिशामा रहेको उहाँको जिकिर छ । उहाँले आफूले नीति परिवर्तन गर्नको लागि वाम एकताको कुरा नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा प्रतिगमन बढिरहेको भन्दै त्यसमाथि हस्तक्षेप गर्न वाम एकता जरुरी रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले असाधारण काम गरेका हौँ । हाम्रा नीतिहरु एकदमै सही छन् । र नीतिको लागि हामीले वामपन्थी एकताको कुरा गरेका होइनौँ । हाम्रा आर्थिक, सामाजिक नीति, परराष्ट्र नीति सबै ठिक छन् । सुखी नेपाली समृद्ध नेपाल नै हाम्रो नीति हो र हाम्रो समाजवाद हो । सुखी र समृद्धिको लागि पहिलो कुरा सुरक्षा हो । सुरक्षाबिना सुखी हुन सकिँदैन ।’
उहाँले जनताको बहुदलीय समाजवादको आधारमा पार्टी अगाडि बढ्ने कुरामा समेत जोड दिनुभयो ।




