काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको व्यापार घाटा न्युनिकरण गर्न, लगानीका अवरोध हटाउन तथा द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भारत–नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्वपूर्ण स्रोत रहेको उल्लेख गर्दै श्रेष्ठले सीमा पार व्यापारमा देखिएका समस्या समाधान, भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र यातायात सञ्जाल विस्तारमा जोड दिनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०२५–२६ मा नेपाल र भारतबीचको कुल द्विपक्षीय व्यापार करिव १०.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालले भारततर्फ करिव १.७८ अर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको थियो भने भारतबाट करिव ८.३२ अर्ब अमेरिकी डलर बराबरको वस्तु आयात गरेको थियो । श्रेष्ठले व्यापारमा देखिएको असन्तुलन कम गर्न नेपालको निर्यात क्षमता अभिवृद्धि गर्नुपर्ने र भारतबाट उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्नुपर्ने बताउनु भयो । व्यापार नीतिमा पूर्वानुमानयोग्यता कायम गर्दै व्यवसायको लागत घटाउन सके दुवै देशका व्यवसायी र उपभोक्ता लाभान्वित हुने उहाँको भनाइ छ ।
श्रेष्ठले नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा सामना गर्नुपरेका गुणस्तर प्रमाणीकरणसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरो (बीआईएस) बीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । विशेषगरी स्टिल, जुत्ता तथा प्लाइवुडजस्ता उत्पादनको प्रमाणीकरण प्रक्रियामा देखिएको ढिलाइले नेपाली उद्योगी व्यवसायी प्रभावित भएको उनले बताए। बीआईएस प्रमाणीकरण प्राप्त गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्ने र प्रमाणपत्र प्राप्त हुँदासम्म नवीकरणको समय नजिकिने अवस्थाले स्थानीय उद्यमी निरुत्साहित भएको उहाँको भनाइ छ । यस समस्याको समाधानका लागि दुवै देशका सरकारबीच समन्वय गरी प्रमाणीकरण प्रक्रिया छिटो, सरल र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली जुट उत्पादनमा हालै लगाइएको एन्टिडम्पिङ शुल्कले नेपालको जुट उद्योगको वृद्धि र प्रतिष्पर्धात्मक क्षमतामा नकारात्मक असर पारेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालले जलविद्युत, विद्युत प्रशारण पूर्वाधार, पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा भारतीय लगानीलाई स्वागत गर्ने श्रेष्ठले बताउनु भयो । बलियो प्रशारण पूर्वाधार, स्पष्ट नीति र दीर्घकालीन लगानी सुनिश्चित गर्नसके नेपालले भारततर्फ विद्युत निर्यात बढाउनुका साथै स्वदेशमै रोजगारी सिर्जना र राजस्व वृद्धि गर्न सक्ने उहाँको भनाइ छ । पर्यटन क्षेत्रको विकासका लागि गन्तव्यहरूको स्तरोन्नति, यातायात तथा हवाई सम्पर्क विस्तार र भारतीय पर्यटकलाई आकर्षित गर्ने विशेष प्याकेज आवश्यक रहेको उहाँले बताउनु भयो । धार्मिक तथा सांस्कृतिक पर्यटनअन्तर्गत रामायण सर्किट, बौद्ध सर्किट र वेलनेस पर्यटनको प्रवद्र्धनले दुई देशबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।
श्रेष्ठका अनुसार सन् २०२५ मा २ लाख ९२ हजार ४३८ भारतीय पर्यटक नेपाल आएका थिए, जुन नेपालको कुल पर्यटक आगमनको २५.२ प्रतिशत हो । यसले नेपालको पर्यटन क्षेत्रमा भारतीय बजारको महत्त्व स्पष्ट पार्ने उहाँको भनाइ छ ।





