रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रश्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिनुभएको छ ।
आईतवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गर्नुभयो । रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रश्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताउनु भयो । उहाँले रास्वपाभित्रै वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिवद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गर्नुभयो । संघीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै पुनले यस प्रकारको ‘आगोसँग खेल्ने’ काम नगर्न रास्वपालाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा संघीयता बलियो बनाउँछौँ भनेर भाषण गर्ने, तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको कुरा गर्नु द्वैध र अवसरवादी चरित्र हो । प्रदेश सभाविहीन संरचनाको अर्थ विगतकै पाँच विकास क्षेत्र जस्तो एकात्मक व्यवस्था हो । संघीयताको मूल मर्म भनेकै जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्नु हो, केवल प्रशासनिक इकाई मात्र राख्नु संघीयताको उपहास हो ।’
नेता पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र ‘लोकप्रियतावाद’ मात्र झल्काएको आरोप लगाउनु भयो ।

Leave a Reply

ताजा समाचार