जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताउनुभएको छ । शनिवार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसंगति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहेको उल्लेख गर्नुभएको हो । उहाँले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रश्तुत गर्नुभयो । देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उहाँले राष्ट्रियताको मामिलामा समेत सरकारको भुमिकामाथि प्रश्न उठाउनु भयो । भारतसँगको सीमा विवादका विषयमा देशभक्त जनता सडकमा आउनुपर्ने र राष्ट्रका पक्षमा लड्नेहरू नै वर्तमान सरकारको विकल्प बन्नसक्ने उहाँको दाबी थियो ।

पछिल्लो समय युनियनहरू खारेज गर्ने तयारी भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्दै नेता पुनले यसलाई अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक हकमाथिको प्रहारका रूपमा चित्रण गर्नुभयो । वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले संसदलाई बेवास्ता गर्ने र बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको आरोप लगाउनु भयो । सरकार गठन भएको १०० दिन नपुगेका कारण अहिले नै पूर्ण मूल्याङ्कन नगरे पनि राष्ट्रघात र जनघातका मामिलामा मौन बस्न नसकिने उहाँको स्पष्टोक्ति थियो । पार्टीको आगामी कार्यदिशाबारे बोल्दै नेता पुनले वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply