संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैन : नेकपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैन : नेकपा

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा नेकपा सधैं सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले विगतमा कम्युनिष्ट पार्टीहरुले प्राप्त जनमतको सदुपयोग गर्न नसकेको स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यसबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभयो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले उल्लेखनीय जनसमर्थन पाएको तथा २०७४ सालमा पार्टी एकतापछि तत्कालीन नेकपाले झण्डै दुई तिहाइ बहुमत पाएपनि त्यसको सदुपयोग गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ ।

उहाँले भन्नुभयो, ‘२०६४ सालमा तत्कालनि नेकपा (माओवादी केन्द्र)ले झन्डै यस्तै यस्तै जनमत प्राप्त गरेको थियो । २०७४ सालमा पनि हामीले पार्टी एकता गर्दा झण्डै झण्डै दुई तिहाई थियो । त्यसलाई हामीले सदुपयोग गर्न जानेनौँ, सकेनौँ । हाम्रा यस्ता कमिहरुबाट यहाँहरुले शिक्षा लिएर देश र पार्टीलाई अगाडि लैजाने कुरा गर्नुहोस् । राष्ट्र निर्माण र राष्ट्रिय स्वाधिनताको लागि हामी तपाइहरुलाई सहयोग गर्न तयार छौँ । सामाजिक न्याय र रुपान्तरणको लागि । तर संविधान संशोधनको कुरामा लोकतन्त्र, गणतन्त्र र समावेशीतामा सम्झौता हुन सक्दैन । अरु बाँकी कुरामा सहयोग गर्न तयार छौँ ।’

सामाजिक न्याय र समाज रुपान्तरणको सवालमा सरकारलाई पार्टीले पुर्णतः सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply