साउदी अरबद्वारा ‘इस्ट–वेस्ट पाइपलाइन’ को क्षमता दैनिक १ करोड ब्यारेल पुर्‍याउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

साउदी अरबद्वारा ‘इस्ट–वेस्ट पाइपलाइन’ को क्षमता दैनिक १ करोड ब्यारेल पुर्‍याउने घोषणा

साउदी अरबले आफ्नो रणनीतिक महत्वको ‘इस्ट–वेस्ट पाइपलाइन’ को दैनिक तेल ढुवानी क्षमतालाई आगामी वर्षहरूमा १ करोड ब्यारेल पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । रियादमा आयोजित २५ औँ विश्व पेट्रोलियम काउन्सिल ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमान बिन अब्दुलअजिजले ऊर्जा सुरक्षालाई मजबुत बनाउन यो कदम चालिएको स्पष्ट पारेका हुन् । हालैका वर्षहरूमा देखिएको वैश्विक ऊर्जा संकटले विश्वव्यापी आपूर्ति श्रृंखलामा रहेको कमजोरीलाई उजागर गरेको छ । सोही संकटलाई दृष्टिगत गर्दै मन्त्री अब्दुलअजिजले वैकल्पिक ढुवानी मार्गहरूको विकास र भविष्यमा हुन सक्ने सम्भावित आपूर्ति अवरोधहरूको सामना गर्न पूर्वतयारी अनिवार्य भएको बताएका छन् । साउदी प्रेस एजेन्सीकाअनुसार सो पाइपलाइनको क्षमता अभिवृद्धिका लागि अहिले विभिन्न प्राविधिक योजनाहरूमाथि काम भइरहेको छ । यसअन्तर्गत पम्पिङ स्टेशनहरू, प्रसारण पाइपलाइन र ग्यास प्रणालीको स्तरोन्नति गर्ने तयारी छ । यस आयोजनाले तेलको निर्बाध प्रवाह सुनिश्चित गर्ने विश्वास लिइएको छ । उक्त कार्यक्रममा बोल्दै पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का महासचिव हैथम अल घैसले साउदी अरबको यो पाइपलाइन वैश्विक ऊर्जा बजारको स्थिरताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । हालको अस्थिर भू–राजनीतिक अवस्थामा ऊर्जा सुरक्षाका लागि यस्ता पूर्वाधारहरूले मेरुदण्डको काम गर्ने उनको भनाइ छ । साउदी अरबको यो कदमले भविष्यमा बढ्दो ऊर्जा मागलाई धान्ने र कुनैपनि विषम परिस्थितिमा तेल आपूर्तिलाई प्रभावित हुन नदिने रणनीति राखेको छ ।

Leave a Reply

ताजा समाचार