हर्मुज जलसन्धिमा निर्बाध पारवहन सुरक्षा सुनिश्चित गर्न इजिप्ट र साउदी अरबको जोड | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

हर्मुज जलसन्धिमा निर्बाध पारवहन सुरक्षा सुनिश्चित गर्न इजिप्ट र साउदी अरबको जोड

इजिप्ट र साउदी अरबले हर्मुज जलसन्धिमा अन्तर्राष्ट्रिय कानुून अनुरूप निर्वाध जल यातायात र पारवहन सुरक्षा सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिएका छन् । इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच दुवै देशले स्थितिलाई थप बिग्रन नदिन र संयमता अपनाउन आह्वान गरेका हुन् । इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र साउदी समकक्षी प्रिन्स फैसल बिन फरहान अल साउदबीच भएको टेलिफोन वार्ताका क्रममा उक्त धारणा व्यक्त गरिएको हो । दुवै मन्त्रीले अन्तर्राष्ट्रिय ढुवानी मार्गको सुरक्षा र संवेदनशीलतामा जोड दिँदै समुद्री यातायातमा हुने कुनैपनि अवरोधले विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । वार्ताका क्रममा उनीहरूले हालैका क्षेत्रीय तनावका विषयमा छलफल गर्दै खाडी मुलुकहरू र जोर्डनलाई लक्षित गरी इरानले गरेका आक्रमणहरूको निन्दा गरेका छन् । दुवै पक्षले तत्काल सबै उत्तेजक र द्वन्द्व बढाउने खालका गतिविधिहरू बन्द गर्न आग्रह गरेका छन् । तनाव न्युनिकरणका लागि क्षेत्रीय प्रयासहरूको समीक्षा गर्दै मन्त्रीद्वयले इजिप्ट, साउदी अरब, टर्की र पाकिस्तान सम्मिलित ’क्षेत्रीय क्वार्टेट’ को भुमिकाका बारेमा समेत विचार आदानप्रदान गरेका थिए । पछिल्लो साता हर्मुज जलसन्धि भएर जाने व्यावसायिक जहाजहरूमाथि इरानले आक्रमण गरेको भन्दै अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा श्रृङ्खलावद्ध हवाई हमला गरेको थियो । त्यसको प्रतिउत्तरमा इरानले पनि छिमेकी मुलुकहरूमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूलाई लक्षित गरी आक्रमण गरेपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।

Leave a Reply

ताजा समाचार