काठमाडौं ।
पाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउने दाबी गर्नुभएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले हाल प्रतिनिधि सभामा पार्टीको १७ सिट रहेको उल्लेख गर्दै जनतालाई सही ढङ्गले प्रशिक्षित गर्नसके कम्युनिस्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको बताउनुभएको हो । नेता पुनले क्रान्तिकारी विचारको निरन्तरता नभएमा आन्दोलनले माथि उठाएको वर्ग नै प्रतिक्रान्तिको सहयोगी बन्नसक्ने जोखिम औँल्याउनु भयो ।
बदलिँदो विश्व परिवेशको विश्लेषण गर्दै नेता पुनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीहरूबारे समेत सचेत गराउनु भयो । पुँजीवादले हरेक क्षेत्रलाई डिजिटल र भर्चुअल माध्यमबाट नियन्त्रण गरिरहेको उल्लेख गर्दै उहाँले यसको गहन अध्ययन गरी श्रमजीवी जनताको पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परिरहेको प्रभाव र बदलिँदो भौतिक अवस्थाले मानिसको चेतनामा परिवर्तन ल्याइरहेको उहाँको तर्क छ । नेता पुनले वर्तमान विश्वको बदलिँदो स्वरूपलाई सही ढङ्गले विश्लेषण गरी जनताको पक्षमा काम गर्न नसके आन्दोलनले क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिनुभयो ।




