काठमाडौँ ।
नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारले राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमालाई निरन्तर उपेक्षा गरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको चालु अधिवेशनको समापन बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले झन्डै दुई तिहाइको दम्भमा सरकारले संसदप्रतिको जवाफदेहिता गुमाएको र विपद् व्यवस्थापनदेखि जनसरोकारका मुद्दामा पूर्णतः निष्प्रभावी देखिएको दाबी गर्नुभएको हो । अधिवेशनको समग्र समीक्षा प्रश्तुत गर्दै नेता पन्तले प्रतिनिधि सभा नियमावली संशोधनमार्फत राष्ट्रिय सभाको अधिकार र अस्तित्व खुम्च्याउने असंवैधानिक प्रयास भएको जिकिर गर्नुभयो । त्यस कदमविरुद्ध अदालतको ढोका ढक्ढक्याउनुपरेको र सर्वोच्च अदालतबाट न्याय प्राप्त भएको स्मरण गराउँदै उहाँले यस अधिवेशनलाई संविधानको रक्षा भएको अवधिका रूपमा व्याख्या गर्नुभयो ।
बहालवाला मन्त्रीहरूले समेत सार्वजनिक मञ्चहरूबाट राष्ट्रिय सभाको गरिमामाथि आँच आउने अमर्यादित अभिव्यक्ति दिने गरेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । भोटेकोशी बाढी र विपद् व्यवस्थापनको पूर्वतयारीमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उहाँले संसद्ले पूर्वसचेतना गराउँदा गराउँदै पनि सरकारको उदासीनताले ठूलो मानवीय क्षति भएको बताउनु भयो । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम, बजेट र अध्यादेशहरू पारित गर्न निरन्तर रचनात्मक सहयोग गरे पनि सरकारले त्यसलाई सभाको कमजोरीका रूपमा बुझेको उहाँको टिप्पणी छ ।




