काठमाडौँ ।
नेकपा (एमाले) की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रजहरूको योगदानलाई बिर्सिएर युवा पुस्तालाई उत्तेजित पार्ने काम घातक भएको जिकिर गर्नुभएको हो । सांसद घतानीले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका उपलब्धिहरू पञ्चायतकाल र राजतन्त्रविरुद्ध संघर्ष गर्ने नेताहरूको देन भएको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार स्टन्ट र भ्रमको खेतीमा मात्र केन्द्रित रहेको आरोप लगाउनु भयो ।
बजारमा ग्यासको हाहाकार, स्वास्थ्य बीमाको उपेक्षा र बाढीपहिरोको विपद्मा सरकारको उपस्थिति फितलो रहेको भन्दै उनले आलोचना गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्शा जारी गरी देखाएको राष्ट्रिय अडान र वर्तमान नेतृत्वको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिबीच उहाँले तुलना गर्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो ।





