पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहालले मुलुकका वामपन्थी र देशभक्त शक्तिहरूबीचको सहकार्य र एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । .
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । दाहालले कतिपयले पार्टी एकताको विषयलाई लिएर अन्योल व्यक्त गरेको भन्दै तत्कालका लागि मुद्दाका आधारमा सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद, सडक र चुनावी मोर्चामा मात्र नभई ट्रेड युनियन, विद्यार्थी संगठन र सीमाना रक्षाका विषयमा पनि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । गरिब, मजदुर र किसानका विरुद्ध भइरहेका षडयन्त्रहरूलाई चिर्न बामपन्थी शक्तिहरू मिल्नुको विकल्प नभएको उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘वामपन्थी र देशभक्तहरु एक हुनुपर्छ यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु । यहाँ केही साथीहरुले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन् मलाई अनौठो लाग्छ । मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौँ, बेलुकै पार्टी एकता गरौँ भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ सहकार्य चाहिँ। भरे सकिन्छ भने भरे नै गरौँ । भोलि सकिन्छ भने भोलि गरौँ । पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ । अहिले जसरी थुप्रै चिजहरु भएका छन्, चाहे ट्रेड युनियनको कुरा गरौँ, चाहे विद्यार्थीको कुरा गरौँ, चाहे सिमानाको कुरा गरौँ, मैले अघि भने गरीब मजदुर किसानका विरुद्ध जुन षडयन्त्र भएको छ, त्यसका विरुद्ध मिल्न सक्ने जतिहरु सहकार्य गर्न जति ढिलो ग¥यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ ।’
सहकार्यमा हुने ढिलाइले मुलुकमा गम्भीर संकट निम्त्याउन सक्ने संकेत गर्नुभयो । वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढ्नु नै वर्तमान समयको मुख्य आवश्यकता रहेको उहाँको निष्कर्ष थियो ।




