वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरु एकतावद्ध हुन ढिला गर्न नहुने टिप्पणी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले देशको राजनीतिक घटनाक्रम गत भदौ २४ गतेपछि प्रतिक्रियावादी दिशामा अघि बढिरहेको भन्दै यसका विरुद्ध वामपन्थी र देशभक्तहरु एकताबद्ध हुन ढिला गरे गम्भीर गल्ती हुने बताउनु भयो । उहाँले राष्ट्रिय स्वाधिनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको भन्दै निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रश्तुत भएको बताउनु भयो । उहाँले सरकारले संविधानका आधारभूत मूल्य मान्यतामाथि प्रहार गर्दै पीडित वर्ग, मजदुर, किसान र उत्पीडित समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशको राजनीतिक घटनाक्रम भदौ २४ गते यता प्रतिक्रान्तिकारी घटनाक्रमको रुपमा अगाडि बढिरहेको छ । राष्ट्रिय स्वाधिनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको महशुस हुँदै गएको छ । अहिले निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भइरहेको छ । सरकार संविधानका आधारभूत कुराहरुमाथि प्रहार गर्ने, सबै पीडित वर्ग समुदाय मजदुर किसानदेखि सबै उत्पीडित जाति समुदायमाथि प्रहार गर्ने र संविधानका आधारभूत मान्यताहरुमाथि प्रहार गर्न उद्यत भएको देखिँदै गएको छ । यी सबै कुराको  लक्ष्य कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने ? भन्नेमा केन्द्रित छ । दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा कम्युनिष्टहरू सिध्याइयो भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ । र यो नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको जबरदस्त प्रभावलाई के गरी सिध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँ भरका प्रतिक्रियावादीहरु लागिराख्या छन् । त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा २४ भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ । यो परिस्थितिमा हामीले ढिलो नगरीकन राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीवादका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरु एक हुनुपर्छ । यसलाई ढिला गर्नु गल्ती हुन्छ ।’
उहाँले आफूले कम्युनिष्ट एकताका लागि हतारो नगरेको भन्दै दलहरुभित्र समिक्षा गरेर मात्र एकताको प्रक्रियामा जानुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार