झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित

पुजन घिमिरे
इलाम, २७ साउन । झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । बिगतमा सिँचाई अभावका कारण जमिन बाँझै राख्दै आएका इलामको रोङ–२ बरफल्याङका स्थानीयले केरा खेतीबाटै आफ्नो गुजारा चलाँउदै आएका छन् । तीन सय भन्दा बढी कृषक अहिले व्यवसायिक केरा खेतीमा लागिरहेका छन् ।

केही वर्ष अघिसम्म टाढाबाट यो गाउँ हेर्दा रातो माटो भएको रुखो डाँडा मात्रै देखिन्थ्यो । तर, अहिले भने यही रुखो डाँडा केराखेतीले बाह्रै महिना हरीयाली छ । केरा खेतीसंगै यहाँका स्थानीयको आम्दानी पनि बढेको छ ।

पानी अभावले एक दशक अघिसम्म इलामको रोङ गाउँपालिका २ मा अधिकांशका जमिन बाँझै हुन्थ्यो । पाखो र भिरालो बारीका डिलमा घरायसी प्रयोजनका लागि केरा लगाउने गरिएको थियो ।

केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यवसायीक रुपमै गर्न थालेका हुन् । हाल बरफ्ल्याङ, दुधे, बँगैचा, धनसार क्षेत्रका बासिन्दाले व्यवसायीक रुपमा केरा खेती गरिरहेका छन् ।

उनीहरुले स्थानीय जातका लाल, कमिले, भण्डारी, घिउँ केरा र उन्नत जातको सिंगापुरीया केरा लगाएका छन् । केरा खेतीले सुपारी खेतीका लागि अनुकुल वातारवरण बनाउने भएकाले कृषकहरु केरासंगै सुपारी खेती पनि गर्दै आईरहेका छन्।

उत्पादिन केरा खरिदका लागि व्यापारी बारी मै पुग्ने भएकाले कृषकहरुलाई बजारको कुनै समस्या छैन । व्यापारीले प्रति घरी १ सय रुपैयाँ देखि ३ सय रुपैयाँसम्म मुल्य हालेर किसानबाट केरा खरिद गर्ने गरेका छन् ।

यहाँ ३ सय भन्दा बढी कृषकले व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम ३ रोपनी देखि ३ विगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकठ्ठा वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

स्थानीयले गाउँपालिकाले दिएको तालिमबाट सिप सिकी केराको विभिन्न परिकार उत्पादन गरी बिक्री समेत गर्न थालेका छन् । सो क्षेत्रलाई केरा खेतीको पकेट क्षेत्र मानेर विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको रोङ गाउँपालिका–२ का वडाअध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो ।

सुख्खा डाँडामा केरा खेती गर्नाले हिउँदमा समेत जमिन चिसो राख्न मद्दत पुग्ने भएकाले केराबारीमा लगाइने अन्य बालीलाई समेत सहयोग भएको स्थानीय बताउँछन् ।

स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ । यसरी बाँझो रहेको बारीमा केरा खेती गरेर कृषकहरुले आम्दनी गर्नाले कृषकहरुको जीवनस्तर त उकास्छ नै देशको समृद्धिमा पनि टेवा पु-याउँछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);