एजेन्सी, २२ भदौ । भारतको एक अदालतले करिब २५ वर्ष अघि भएको बम हमलामा संलग्न आरोपी मध्ये दुई जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।
घटनाका मुख्य आरोपी फिरोज खान र ताहिर मर्चेण्टलाई हत्यामा संलग्न भएको ठहर गर्दै अदालतले मृत्यु दण्डको सजाय सुनाएको हो ।
बम हमलामा संलग्न अन्य दुई जना अबू सलेम र करीमुल्ला शेखलाई आजीवन काराबासको सजाय सहित २ /२ लाखको जरिवाना तोकिएको छ।
यसै घटनाका अर्का दोषी रियाज सिद्दीकीलाई दश वर्षको जेल सजाय तोकिएको छ । फैसला सुने लगत्तै यस घटनाका अर्का आरोपी मुस्ताफा डोसाको हृदयघातका कारण मृत्यु भएको थियो।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपीलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।
यस घटनाका मुख्य योजनाकार दाउद इब्राहिम, टाइगर मिनोन लगाएत आरोपीहरु अझै पनि फरार नै छन् ।

२५ वर्ष अघि भारतका एक दर्जन स्थानलाई लक्षित गर्दै एकैसाथ गरिएको सो बम हमलामा परी २५७ जना मानिसको ज्यान गएको थियो भने ७ सय १३ जना मानिस घाइते भएका थिए ।
उक्त बम हमलाका कारण २७ करोड भन्दा बढिको धनजनको क्षति भएको थियो ।




