राजनीति

टर्किएद्वारा आर्थिक लक्ष्यहरू परिमार्जनः मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण

टर्किए सरकारले भूराजनीतिक जोखिमका कारण उत्पन्न चुनौतीहरूलाई मध्यनजर गर्दै सन् २०२७–२०२९ का लागि नयाँ मध्यमकालीन आर्थिक कार्यक्रम सार्वजनिक गरेको छ । आईतवार घोषित उक्त कार्यक्रममा आगामी वर्षहरूका लागि मुद्रास्फीति र आर्थिक वृद्धिका लक्ष्यहरूमा उल्लेख्य परिमार्जन गरिएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२६ का लागि मुद्रास्फीतिको अनुमानित दर यसअघिको १६ प्रतिशतबाट बढाएर २८.४ प्रतिशत पु¥याइएको छ । त्यसैगरी, सोही अवधिका लागि आर्थिक वृद्धिको लक्ष्य ३.८ प्रतिशतबाट घटाएर ३.३ प्रतिशत कायम गरिएको छ । टर्किएका उपराष्ट्रपति जेभ्देत यिल्माजले कार्यक्रम सार्वजनिक गर्दै मध्यपूर्वमा जारी तनावका कारण पर्यटन क्षेत्रको आम्दानीमा समेत प्रभाव परेको जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्षको पर्यटन आम्दानीको लक्ष्य ६८ अर्ब अमेरिकी डलरबाट घटाएर ६५ अर्ब डलर कायम गरिएको छ । उपराष्ट्रपति यिल्माजले युद्धका कारण पर्यटन क्षेत्रमा प्रभाव परेकाले लक्ष्य परिमार्जन गर्नुपरेको स्पष्ट पार्नुभयो । सरकारले सन् २०२७ का लागि मुद्रास्फीतिको लक्ष्यमा पनि व्यापक हेरफेर गरेको छ । यसअघि ९ प्रतिशत प्रक्षेपण गरिएको मुद्रास्फीति दरलाई संशोधन गरी २१ प्रतिशत पु¥याइएको छ । आर्थिक लक्ष्यहरूमा परिमार्जन गरिए तापनि सरकार मूल्य स्थिरता र मुद्रास्फीति नियन्त्रणको रणनीति (डिसइन्फ्लेसन स्ट्राटेजी) प्रति पूर्ण प्रतिवद्ध रहेको उपराष्ट्रपति यिल्माजले बताउनु भयो । टर्किएले विशेषगरी सन् २०१८ को मुद्रा संकटपछि विगत केही वर्षदेखि निरन्तर उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । परिवर्तित विश्व परिस्थिति र क्षेत्रीय तनावका बीच सार्वजनिक गरिएको यो नयाँ कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिने सरकारको लक्ष्य रहेको छ ।

Related Post
Share

This website uses cookies.