जोर्डनद्वारा दक्षिणी सिरियामा हवाई आक्रमण, चर्च आक्रमणमा संलग्न लडाकुहरूलाई निशाना बनाएको दाबी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ११ २०८३, बुधवार

जोर्डनद्वारा दक्षिणी सिरियामा हवाई आक्रमण, चर्च आक्रमणमा संलग्न लडाकुहरूलाई निशाना बनाएको दाबी

जोर्डनले दक्षिणी सिरियामा सोमवार हवाई आक्रमण गरेको छ । जोर्डनको सशस्त्र बलका अनुसार दक्षिणी जोर्डनको कराक प्रान्तस्थित चर्चमा भएको घातक आक्रमणमा संलग्न लडाकु समूहका अखडालाई लक्षित गरी आक्रमण गरिएको हो ।जोर्डनको सशस्त्र बलले शुक्रवार चर्चमा भएको आक्रमणको जवाफस्वरूप हवाई कारबाही गरिएको जनाएको छ । उक्त कारबाही सिरियाली अधिकारीहरूसँग समन्वय गरेर सञ्चालन गरिएको जोर्डनी सेनाको दाबी छ । तर सिरियाको सरकारी समाचार संस्था सानाले सोमवार साँझ दक्षिणी सिरियाको दाराअ क्षेत्रको ग्रामीण इलाकामा भएको जोर्डनी हवाई आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको छ । सानाले प्रान्तीय स्वास्थ्य निर्देशनालयका प्रमुखलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । आक्रमणपछि सिरियाली अधिकारीहरूले दक्षिणी क्षेत्रमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । साथै, उक्त सैन्य कारबाहीबारे सिरियाली पक्षसँग अग्रिम समन्वय नगरिएको उनीहरूको भनाइ छ ।
सिरियाली अधिकारीहरूले हवाई आक्रमणबारे अनुसन्धान सुरु गरेको र घटनाका विषयमा छलफल गर्न जोर्डनसँग सञ्चार सम्पर्क कायम राखेको बताएका छन् । गत शुक्रवार दक्षिणी जोर्डनको कराक प्रान्तमा अन्त्येष्टिमा सहभागी मानिसहरूमाथि बन्दुकधारीहरूले गोली चलाएका थिए । उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने कम्तीमा ३४ जना घाइते भएका थिए ।

Leave a Reply