इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम र तनाव कम गर्ने प्रयासबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ११ २०८३, बुधवार

इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम र तनाव कम गर्ने प्रयासबारे छलफल

इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम तथा बढ्दो तनाव कम गर्ने प्रयासबारे टेलिफोन वार्ता भएको छ । इजिप्टको विदेश मन्त्रालयकाअनुसार विदेशमन्त्री बद्र अब्देलाट्टी र इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीबीच मंगलवार टेलिफोन वार्ता भएको हो । वार्ताका क्रममा पछिल्लो क्षेत्रीय घटनाक्रमलाई सम्बोधन गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । विदेशमन्त्री अब्देलाट्टीले क्षेत्रीय तनाव बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । यसअघि सोमबार इरान, साउदी अरब, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरू तेहरानमा भेला भएका थिए । उनीहरूले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवद्र्धनका लागि सहकार्य सुदृढ गर्न वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए । उक्त बैठकको सन्दर्भ उल्लेख गर्दै अब्देलाट्टीले तनाव नियन्त्रण गर्न र क्षेत्रीय सङ्कटलाई थप विस्तार हुन नदिन भइरहेका सबै प्रयासप्रति इजिप्टको पूर्ण समर्थन रहेको बताएका थिए । दुई विदेशमन्त्रीबीच इरान र क्षेत्रीय चार देशीय मन्त्रीस्तरीय संयन्त्रबीच जारी परामर्शबारे पनि छलफल भएको थियो । उक्त संयन्त्रमा इजिप्ट, साउदी अरब, पाकिस्तान र टर्की सहभागी छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रवार इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिनुभएको थियो । उहाँले इरानविरुद्ध फेरि ‘एपिक फ्युरी’ नामको सैन्य कारबाही गर्न सकिने बताउनुभएको थियो । यही नाममा अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानविरुद्ध ठूलो सैन्य अभियान शुरु गरेको थियो । इरान र साउदी अरबबीचको तनाव तथा यमनको हुथी समूहसँग बढ्दो शत्रुताका बीच इजिप्टको संसदले सोमवार साउदी अरबलाई वाह्य आक्रमणबाट सहयोग र रक्षा गर्न राष्ट्रपति अब्देल फताह अल–सिसीलाई आवश्यक कदम चाल्ने अधिकार दिएको थियो । क्षेत्रीय तनाव बढिरहेका बेला इजिप्ट र इरानका विदेशमन्त्रीबीच भएको पछिल्लो वार्तालाई क्षेत्रीय सङ्कट नियन्त्रण गर्ने कुटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

Leave a Reply