जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित

जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रशारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो । वर्तमान राज्य प्रमुख स्वेन शुल्जेको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले यस निर्वाचनमा ठूलो धक्का व्यहोरेको छ । सन् २०२१ को निर्वाचनमा ३७.१ प्रतिशत मत ल्याएको सीडीयू यसपटक १८.४ प्रतिशतमा खुम्चिएको छ । निर्वाचनमा लेफ्ट पार्टी ९.३ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेको छ भने ग्रीन्स पार्टीले ८.७ प्रतिशत र सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) ले ८.४ प्रतिशत मत प्राप्त गरेका छन् । भर्खरै गठन भएको साहरा वागेनक्नेख्त एलायन्स ५ प्रतिशतको संसदीय थ्रेसहोल्ड पार गर्ने सङ्घारमा देखिएको छ । व्यावसायिक घरानासँग निकट मानिने फ्री डेमोक्र्याटिक पार्टी (एफडीपी) ले भने मात्र २.२ प्रतिशत मत प्राप्त गर्दै राज्य संसदबाट बाहिरिएको छ । ८३ सदस्यीय राज्य संसदमा एएफडीले ३९ सिट जित्ने प्रक्षेपण गरिएको छ । यो सङ्ख्या एकल सरकार गठनका लागि आवश्यक पूर्ण बहुमतभन्दा तीन सिट मात्र कम हो । एएफडीका ३५ वर्षीय मुख्य उम्मेदवार उल्रिच सिगमन्डले निर्वाचन परिणामलाई जनताको स्पष्ट सन्देश भन्दै स्वागत गरेका छन् ।
यसअघि एकल बहुमतको अवस्थामा मात्र सरकारको नेतृत्व गर्ने अडान राख्दै आएका सिगमन्डले निर्वाचनपछि भने आफ्नो दल गठबन्धनका लागि खुला रहेको संकेत गरेका छन् । यद्यपि, जर्मनीका अन्य मुख्यधारका राजनीतिक दलहरूले एएफडीसँग गठबन्धन नगर्ने अडान दोहो¥याएका छन् । मुख्य दलहरूको यो अडानका कारण नयाँ सरकार गठनको प्रक्रिया र स्वरूप अझै अन्योलमा रहेको छ ।

Leave a Reply

ताजा समाचार