जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रशारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो । वर्तमान राज्य प्रमुख स्वेन शुल्जेको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले यस निर्वाचनमा ठूलो धक्का व्यहोरेको छ । सन् २०२१ को निर्वाचनमा ३७.१ प्रतिशत मत ल्याएको सीडीयू यसपटक १८.४ प्रतिशतमा खुम्चिएको छ । निर्वाचनमा लेफ्ट पार्टी ९.३ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेको छ भने ग्रीन्स पार्टीले ८.७ प्रतिशत र सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) ले ८.४ प्रतिशत मत प्राप्त गरेका छन् । भर्खरै गठन भएको साहरा वागेनक्नेख्त एलायन्स ५ प्रतिशतको संसदीय थ्रेसहोल्ड पार गर्ने सङ्घारमा देखिएको छ । व्यावसायिक घरानासँग निकट मानिने फ्री डेमोक्र्याटिक पार्टी (एफडीपी) ले भने मात्र २.२ प्रतिशत मत प्राप्त गर्दै राज्य संसदबाट बाहिरिएको छ । ८३ सदस्यीय राज्य संसदमा एएफडीले ३९ सिट जित्ने प्रक्षेपण गरिएको छ । यो सङ्ख्या एकल सरकार गठनका लागि आवश्यक पूर्ण बहुमतभन्दा तीन सिट मात्र कम हो । एएफडीका ३५ वर्षीय मुख्य उम्मेदवार उल्रिच सिगमन्डले निर्वाचन परिणामलाई जनताको स्पष्ट सन्देश भन्दै स्वागत गरेका छन् ।
यसअघि एकल बहुमतको अवस्थामा मात्र सरकारको नेतृत्व गर्ने अडान राख्दै आएका सिगमन्डले निर्वाचनपछि भने आफ्नो दल गठबन्धनका लागि खुला रहेको संकेत गरेका छन् । यद्यपि, जर्मनीका अन्य मुख्यधारका राजनीतिक दलहरूले एएफडीसँग गठबन्धन नगर्ने अडान दोहो¥याएका छन् । मुख्य दलहरूको यो अडानका कारण नयाँ सरकार गठनको प्रक्रिया र स्वरूप अझै अन्योलमा रहेको छ ।
This website uses cookies.