पद घटुवा गरिएको भन्दै नेकपाका तीन जिल्ला सचिवले गरे सपथ बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पद घटुवा गरिएको भन्दै नेकपाका तीन जिल्ला सचिवले गरे सपथ बहिष्कार

तेज बोहरा
कैलाली, १५ बैशाख । नेकपामा फेरि नयाँ विवाद देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवलाइ सपथ ग्रहण गराइरहँदा यस प्रदेशमा रहेका तिन वटा जिल्लाका सचिव नै उपस्थित नभएपछि नयाँ विवाद देखिएको हो ।

आइतवार नेकपाको प्रदेश कार्यालय धनगढीमा आयोजना गरिएको कार्यक्रममा नवनियुक्त अध्यक्ष तथा सचिवहरुलाई नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले सपथ ग्रहण गराएका छन् । तर सपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन् ।

डडेल्धुराका सचिव तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका हुन् । तीनै जना तत्कालिन एमाले जिल्ला कमिटी अध्यक्ष हुन भने आफुहरुलाई एकपद तल झारेर सचिव पदको जिम्मा दिएको भन्दै तत्कालीन एमालेबाट जिल्ला सचिवको जिम्मेवारी पाएका उनीहरुले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका तारालामा तामाङ पनि सचिवमा घटुवा भएका छन् । तर उनले चाहि पार्टी निर्णयप्रति असन्तुष्टी जनाए पनि शपथ भने लिएका छन् ।

तत्कालिन एमाले र माओवादी गत जेठ ३ गते एकीकृत भएपछि नेकपा बनेको छ । यसैगरी गत साता लेनिन दिवसको दिनमा जिल्ला तहको एकता पनि घोषणा गरिएको छ । तर, यहि एकतामा चित्त नवुझाएका कतिपय सचिवहरु यस सपथग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन । केन्द्रमा पनि नेताहरु यसैगरी असन्तुष्ट देखिएका छन् । जसको सोझो असर तल्लो तहमा पनि देखिएको छ ।

पार्टी एकीकरणपछि हालै मात्र जिल्ला तहको एकीकरण पूरा भएको हो । एकीकरण पूरा भएपछि गराइएको शपथ ग्रहण कार्यक्रममा केही पदाधिकारी अनुपस्थित भएपछि नेकपाका सुदूरपश्चिम ईन्चार्ज भीम रावलले त्यसबारेमा छानबिन गरिने बताए ।

नेकपाको एकता प्रक्रिया पूरा भए पनि पद बाँडफाँडमा चित्त नबुझ्दा सुदूरपश्चिम प्रदेशमा त्यसको असन्तुष्टी सार्वजनिक भएको छ । जिल्ला नेतृत्वमा रहेका नेताको घटुवा गरिएको भन्दै असन्तुष्टी जनाउने धेरै भए पनि खुलेर बाहिर आउन भने सकेका छैनन । कम्युनिष्ट पार्टीमा केन्द्रले दिएको जिम्मेवारी नमान्नु र सपथ बहिष्कार गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);