विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीबारेका कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीबारेका कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौँ ।

संसदीय समितिले नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात सात दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको समितिमा उक्त आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षबारे छलफल भएपछि सभापति भरतबहादुर खड्काले थप अध्ययनका लागि आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिनुभएको हो । सभापति खड्काले मंगलवारको छलफल अत्यन्त उपयोगी रहेको बताउँदै आयोजनाको आर्थिक, प्राविधिक र प्रक्रियागत विषयमा व्यापक छलफल भएको बताउनु भयो । उहाँले थप जानकारी आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात समितिमा बुझाउन निर्देशन दिनुभयो । सभापति खड्काले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सबैको साझा दायित्व भएको बताउनु भयो । तर राज्यका कामकारबाही सञ्चालन गर्दा विधि, प्रक्रिया, पद्धति र प्रणालीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँको भनाइ थियो। यी विषय लोकतन्त्रका आधारभूत मान्यता र मापदण्ड भएकाले तिनलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । सभापति खड्काले सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय नभएको स्पष्ट पार्दै समितिको आफ्नै निश्चित कार्यक्षेत्र रहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणका राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।समितिले सात दिनभित्र आवश्यक कागजात प्राप्त गरेपछि आयोजनाको प्राविधिक, आर्थिक तथा प्रक्रियागत पक्षमा थप अध्ययन र छलफल अघि बढाउने जनाएको छ ।

Leave a Reply

ताजा समाचार