काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणको स्काडा प्रणाली तथा डिजिटल सञ्चार सञ्जाल विस्तारसम्बन्धी आयोजनामा कुनै एक कम्पनीलाई मात्र लक्षित गरी प्रविधि तथा उपकरण छनोट नगरिएको बताउनुभएको छ ।
सार्वजनिक लेखा समितिको बैठकमा उहाँले आयोजनासम्बन्धी उजुरीबारे आफ्नो धारणा राख्दै उहाँले टेण्डर प्रक्रिया एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा र एडीबीकै परामर्शदातामार्फत तयार गरिएको जानकारी दिनुभयो । उक्त आयोजनासम्बन्धी उजुरीमा मुख्यतः महँगो तथा पुरानो प्रविधिको छनोट, भेन्डर लक–इन तथा अन्तरआवद्धताको समस्या र लागत प्रभावकारिता तथा प्रविधि छनोटको औचित्यमाथि प्रश्न उठाइएको उहाँले बताउनु भयो ।
श्रेष्ठले आयोजनाको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा पटक–पटक प्रि–बिड मिटिङ गरिएको र ती बैठकमा उठेका प्रश्न तथा सुझावलाई सम्बोधन गर्दै प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । प्राधिकरणमा समेत उजुरी प्राप्त भएपछि यसबारे आन्तरिक छलफल गर्नुका साथै एडीबीका परामर्शदातासँग पटक–पटक परामर्श गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार यो आयोजना प्राधिकरणको हालको सञ्चार तथा स्काडा सञ्जाललाई उच्च भोल्टेज सबस्टेसनबाट वितरण तह र शाखा कार्यालयसम्म विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो । यसले अप्टिकल फाइबरमा आधारित सञ्चार पूर्वाधारको विकास गरी इन्टरनेट सेवा प्रदायकलगायत अन्य सेवा प्रदायकका लागि समेत बलियो ब्याकबोन नेटवर्क तयार गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । यसबाट एउटै विद्युत पोलमा अव्यवस्थित रूपमा विस्तार भएका विभिन्न तारको जञ्जाल कम गर्न र सञ्चार पूर्वाधारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । प्राधिकरणले विकास गर्न लागेको डिजिटल पूर्वाधारलाई संस्थागत रूपमा विस्तार गर्ने योजनाअनुसार आयोजना अगाडि बढाइएको उहाँले बताउनु भयो ।
महँगो तथा पुरानो प्रविधि छनोट गरिएको भन्ने आरोपबारे स्पष्ट पार्दै श्रेष्ठले प्राधिकरणले हाल प्रयोग गरिरहेको एसडीएच प्रविधिभन्दा एक चरण अगाडि बढेर ओटीएन प्रविधि छनोट गरिएको बताउनु भयो । उहाँकाअनुसार ओटीएन प्रविधि हालको एसडीएच प्रणालीसँग अन्तरआवद्धता कायम गर्न सकिने र प्राधिकरणका प्राविधिक जनशक्तिका लागि पनि तुलनात्मक रूपमा सहज हुने भएकाले छनोट गरिएको हो ।
एकैपटक पूर्ण रूपमा नयाँ प्रविधिमा जाँदा विद्यमान संरचना उपयोग गर्न कठिन हुने तथा सञ्चालन र व्यवस्थापनमा समेत चुनौती आउन सक्ने भएकाले चरणबद्ध रूपमा प्रविधि स्तरोन्नति गर्नु उपयुक्त हुने सुझाव परामर्शदाताबाट प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
भेन्डर लक–इन अर्थात कुनै एउटा कम्पनीलाई मात्र अनुकूल हुने गरी स्पेसिफिकेसन तयार गरिएको भन्ने आरोप पनि उहाँले अस्वीकार गर्नुभयो । उहाँकाअनुसार आयोजनामा नोकिया, जेडटीई, हुवावे, फाइबरहोम, सिस्को र टेजासलगायतका विभिन्न अन्तर्राष्ट्रिय उत्पादक कम्पनीले उपकरण तथा प्रविधि उपलब्ध गराउन सक्ने अवस्था रहेको छ । त्यसैले टेन्डरका सर्तहरू कुनै एउटा निश्चित कम्पनीलाई लक्षित गरेर तयार नगरिएको उहाँको दाबी छ ।
कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘हाल नेपाल विद्युत प्राधिकरणको सञ्चार तथा स्काडा सञ्जाल उच्च भोल्टेजका सबस्टेसनसम्म मात्र विस्तार भएको छ । ती सबस्टेसनमा रहेको अप्टिकल फाइबर सञ्जाललाई वितरण तह तथा शाखा तहसम्म विस्तार गर्नु यस आयोजनाको प्रमुख उद्देश्य हो । यसबाट इन्टरनेट सेवा प्रदायक (आईएसपी) लगायतका सेवा प्रदायकहरूलाई आवश्यक सञ्चार पूर्वाधार उपलब्ध गराउन सकिनेछ । अहिले घरघरमा इन्टरनेटलगायत विभिन्न सेवा पु¥याउन एउटै विद्युत पोलमा धेरैवटा तारहरू जथाभावी तानिएका छन् । यस आयोजनामार्फत आवश्यक ठाउँहरूमा ब्याकबोन सञ्चार सञ्जाल विस्तार भएपछि त्यस्ता तारहरूको अव्यवस्थित जञ्जाललाई समेत क्रमशः व्यवस्थित तथा न्यूनीकरण गर्न सहयोग पुग्नेछ । अर्थात्, यस आयोजनाले सञ्चार पूर्वाधारको विकास मात्र नभई डिजिटल पूर्वाधारको विस्तारमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । नेपाल विद्युत प्राधिकरणले संस्थागत रूपमा विकास गरेको डिजिटल कम्पनीमार्फत समेत यस पूर्वाधारलाई विस्तार गर्ने योजनाअनुरूप आयोजना अगाडि बढाइएको हो । साथै, एडीबीले अनुदान सहयोग उपलब्ध गराउने प्रतिवद्धताका साथ यो आयोजना अगाडि बढाइएको हुनाले यसबारे संक्षिप्त जानकारी गराउन चाहन्छु । तर, मैले सरसर्ती भन्नुपर्दा यो आयोजना कुनै एउटा निश्चित बिडरलाई मात्र अनुकूल हुने गरी वा भेन्डर लक–इन हुने किसिमले तयार गरिएको जस्तो देखिँदैन । यस विषयमा हामीले एडीबीका परामर्शदातासँग पटक–पटक छलफल गरेका छौँ । अब महँगो तथा पुरानो प्रविधिको छनोट गरिएको भन्ने विषयमा स्पष्ट पार्न चाहन्छु । हाल नेपाल विद्युत् प्राधिकरणले प्रयोग गरिरहेको प्रविधिलाई एसडीएच प्रविधि भनिन्छ । म स्वयं इलेक्ट्रोनिक्स विषयको विद्यार्थी नभएकाले यी प्राविधिक शब्दावली मेरा लागि पनि केही नयाँ छन् । त्यसैले मैले यस विषयमा अध्ययन गरेर नै आज यहाँ जानकारी गराउने प्रयास गरेको छु ।’
लागत प्रभावकारिता र प्रविधि छनोटको औचित्यबारे पनि परामर्शदातासँग विस्तृत छलफल गरिएको उहाँले बताउनु भयो । विद्यमान संरचनालाई उपयोग गर्दै क्रमिक रूपमा प्रविधि स्तरोन्नति गर्नु नै उपयुक्त हुने निष्कर्षका आधारमा ओटीएन प्रविधि छनोट गरिएको उहाँको भनाइ छ । श्रेष्ठले आयोजनासम्बन्धी विषयमा एडीबीसँग समेत पटक–पटक छलफल र अध्ययन भएको जानकारी दिनुभयो । विभिन्न चरणमा उठेका चासो तथा प्रश्न एडीबीसमक्ष पठाइएको र एडीबीले समेत अध्ययन गरी आफ्नो धारणा प्रश्तुत गरिसकेको उहाँले बताउनु भयो ।
आयोजनाको टेण्डर प्रक्रियामा पटक–पटक म्याद थप गरिएको उल्लेख गर्दै उहाँले हालसम्म सात पटक म्याद थप हुँदा करिव २२३ दिन अर्थात् सात महिना ११ दिन थपिएको जानकारी दिनुभयो ।
विभिन्न प्राविधिक विषय, उजुरी तथा सरोकारका विषयमा पर्याप्त छलफल भइसकेको बताउँदै उहाँले अब आयोजना अगाडि बढाउनु उपयुक्त हुने ठहरसहित बोलपत्रसम्बन्धी प्रक्रिया अघि बढाइएको बताउनु भयो ।




