काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।
सोमवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै डा. कार्कीले यस्तो बताउनुुभएको हो । डा. कार्कीले कार्यकारी निर्देशक पदका लागि केवल फरेन्सिक मेडिसिनमा मात्र सिमित नभई चिकित्सा विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र भौतिक विज्ञान जस्ता विधाहरूमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई पनि समेट्नुपर्ने तर्क गर्नुभयो । कुनै एक विधामा मात्र सिमित रहँदा योग्य उम्मेदवारको अभाव हुन सक्ने र छनोट प्रक्रिया खुम्चिने उल्लेख गर्दै उहाँले सक्षम जनशक्तिलाई अवसर दिनुपर्ने बताउनु भयो । कार्यकारी निर्देशकको उमेर हदका बारेमा चर्चा गर्दै डा. कार्कीले ६० वर्षको सीमालाई परिवर्तन गर्न नहुने पक्षमा आफ्नो मत राख्नुभयो । नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र सफलता हासिल गरिरहेको उल्लेख गर्दै उहाँले नयाँ र अपडेटेड पुस्तालाई नेतृत्वमा आउने अवसर प्रदान गर्नुपर्ने बताउनु भयो ।
बैठकमा विधेयकका अन्य प्रावधानहरू र प्रयोगशालालाई आधुनिक एवं वैज्ञानिक ढंगले सञ्चालन गर्ने विषयमा समेत दफावार छलफल भएको हो ।





