राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी

काठमाडौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराउनुभएको छ ।
बिहीवार बसेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री पुनले हाल नेपालमा विश्वविद्यालय खोल्ने प्रतिष्पर्धा चलिरहेको तर राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय पठनपाठनको अभाव खड्किएको औंल्याउनु भयो । उहाँले विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने भन्दै यस्तो कदमले संस्थाको मूल मर्म समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूले समेत अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु त्रुटिपूर्ण रहेको बताउनु भयो । पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले प्रयोगशालाहरूलाई अनुसन्धानमा नै सिमित राख्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री पुनले भन्नुभयो, ‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन । विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन ।’
मन्त्री पुनले विधि विज्ञान जस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने बताउँदै, प्रयोगशालाले पठनपाठनको बाटो खोल्न सक्ने भएपनि स्वयंले विश्वविद्यालयकै स्वरूपमा पठनपाठन सञ्चालन गर्न नहुनेमा जोड दिनुभयो ।

Leave a Reply