काठमाडौँ ।
यमनको लालसागर तटीय शहर होदेइदाहमा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । सोमवार बिहान दूरसञ्चार केन्द्रहरूलाई लक्षित गरी गरिएको आक्रमणमा अन्य ११ जना घाइते भएका छन् । हुथी समूहको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनले हुथी दूरसञ्चार विभागलाई उद्धृत गर्दै आक्रमणमा १७ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । यसअघि उक्त आक्रमणमा चार जनाको मृत्यु र १८ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । आक्रमणबाट दूरसञ्चार केन्द्र, कर्मचारी आवास, मस्जिद तथा सञ्चार टावरमा ठूलो क्षति पुगेको छ । त्यसका कारण होदेइदाहका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको समाचारमा उल्लेख छ । हुथी सञ्चारमाध्यमले आक्रमणमा अमेरिकी निर्मित जीबीयू–३१ बम प्रयोग गरिएको दाबी गरेका छन् । आक्रमणका क्रममा विमानहरू आकाशमै रहिरहेकाले उद्धार कार्यमा समेत अवरोध पुगेको उनीहरूको भनाइ छ । हुथी समूहले आक्रमणमा साउदी अरेबियाका लडाकु विमान संलग्न रहेको आरोप लगाएको छ । यमनको हुथी समूह र साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो । हुथी समूहले पछिल्लो समय साउदी अरेबियाका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ । त्यसको जवाफमा यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण तिब्र भएको हुथी सञ्चारमाध्यमले जनाएका छन् । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यतिबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश क्षेत्र कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता यमनमा द्वन्द्वले निरन्तरता पाउँदै आएको छ ।




