काठमाडौँ ।
भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रश्ताव अघि सारेको छ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलवार प्रतिनिधि सभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रश्तुत गर्नुभयो । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उहाँले यसैको उदाहरणका रूपमा उल्लेख गर्नुभयो । यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उहाँको भनाइ छ । सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भीसीटीएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आवद्ध गर्नुपर्ने प्रश्ताव गर्नुभयो ।
उहाँले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पार्नुभयो । भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उहाँले बताउनु भयो । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानूनी व्यवस्थाअनुसार कारबाही हुने उहाँको भनाइ छ । त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आन्तरिक राजश्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उहाँको सुझाव छ । प्रतिनिधि सभाको अर्थ समितिमा मंगलबार ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो ।




