रौतहटका विभिन्न स्वास्थ्य संस्थामा नि:शुल्क वितरण हुने औषधीको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रौतहटका विभिन्न स्वास्थ्य संस्थामा नि:शुल्क वितरण हुने औषधीको अभाव

medicine

रौतहट, ७ बैशाख । अहिले स्थानीय तहमा सरकारले नि:शुल्क वितरण गर्ने औषधीको अभाव भएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको व्यवस्थापन र औषधी खरीद गर्ने अधिकार पाएको स्थानीय तहले औषधी खरिद गर्न नसक्दा यसको अभाव हुन थालेको छ ।

स्थानिय तहमा रहेका स्वास्थ्य संस्थामा सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव भएपछि जनता औषधी किनेर खान बाध्य छन् । रौतहट जिल्लाको चन्द्रनिगाहापुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा सरकारले वितरण गर्ने निःशुल्क औषधीको चरम अभाव भएको छ ।

सरकारले ७० प्रकारका औषधी निःशुल्क वितरण गर्ने भनेपनि चन्द्रनिगाहापुरका स्वास्थ्य संस्थामा भने ४ देखि ५ प्रकारका औषधी मात्र विरामीले पाउने गरेका छन् । स्थानीय तहहरु औषधी खरिद कुन प्रक्रियाबाट गर्ने ? कति खरिद गर्ने ? भन्ने विषयमा प्रष्ट हुन सकेका छैनन् । उनीहरु अलमलमा परेकै कारण यसको सोझो असर भने जनतालाई परेको छ ।

स्थानीय तहले औषधिको सही व्यवस्थापन गर्न नसक्ने हो भने निःशुल्क औषधिको ब्यवस्थापन प्रदेश वा संघीय सरकारले नै भएपनि गर्नुपर्ने जनताले माग गर्न थालेका छन् ।

स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय अधिकार दिंदा पनि गरिब जनताको दुःखका दिन दुर भएका छैनन् । सकभर औषधी खरिद नगर्ने अनि भएका औषधी पनि जथाभावी रुपमा बांडिने र औषधी खरिदमा भ्रष्टाचार हुने गरेको स्वयम् जनप्रतिनिधिहरु नै स्वीकार गर्छन् ।

पहिले केन्द्रबाट खरिद गरिने औषधी अहिले स्थानिय तहले ५ देखि १० गुणासम्म महंगोमा खरिद गर्न थालेका छन् । पर्याप्त बजेट नहुँदा तथा सिमित बजेटबाट पनि महंगोमा औषधि खरिद गर्नु पर्दा औषधि अभाव हुनु त स्वभाविक नै हो ।

यसमाथि पनि औषधी खरिद गर्न छुट्टाएको रकम कतिपय स्थानियतहले रकमान्तर गर्दै अन्य क्षेत्रमा खर्च गर्न थालेका छन् । सरकारले स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने भने पनि जनताले भने सामान्य खालका औषधी पनि पाएका छैनन् । निःशुल्क औषधी दिने भनेर सरकारी स्तरबाटै निर्णय हुने अनि कार्यान्वयन नहुने प्रवृत्तिले जनताले सास्ती भोग्नु परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);