भूकम्पपछिको पुनर्निर्माणका लागि समझदारी अनुसारको वैदेशिक सहायता आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भूकम्पपछिको पुनर्निर्माणका लागि समझदारी अनुसारको वैदेशिक सहायता आएन

punanirman

काठमाडौं, २ माघ । भूकम्पपछिको पुनर्निर्माणका लागि सम्झौंतामा उल्लेख भए अनुसार वैदेशिक सहायता आउन नसकेको पाइएको छ । बुधबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को ‘विकास सहायता प्रतिवेदन’मा भूकम्पपछिको पुनर्निर्माणका लागि समझदारी अनुसारको वैदेशिक सहायता आउन नसकेको उल्लेख गरिएको हो ।

सो प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी आवास पुनर्निर्माणका लागि समझदारी अनुसारको वैदेशिक सहायता आउन नसकेको स्पष्ट पारे । उनले दाता राष्ट्रहरुले पुनर्निर्माणका लागि दिने भनि गरिएको सम्झौताको २३ प्रतिशत रकम मात्रै प्राप्त भएको उल्लेख गर्दै त्यसले पुनर्निर्माणका लागि थप स्रोतको खोजी गर्ने बेला आएको बताए ।

सरकारले सम्झौता अनुसारको बजेटबारे विश्व बैंकलगायतका संस्थाहरुसँग पुनः छलफल गर्ने योजना पनि बनाएको छ । प्रतिवेदनमा पुनर्निर्माणका लागि ३ अरव ६२ करोड ९२ लाख अमेरिकी डलर बराबरको सम्झौता भएपनि त्यसको २३ प्रतिशत रकम मात्रै नेपाल सरकारलाई प्राप्त भएको उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले वैदेशिक सहायता सहुलियत दरमा लिन सरकारले ‘वैदेशिक सहायता नीति’ बनाउने तयारी गरेको बताए । दाताहरुको सर्तले वैदेशिक सहायता लिन समस्या परेकाले सो समस्या समेत समाधान हुने गरी सो नीति तय गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले वैदेशिक सहायताको रकमलाई पारदर्शी बनाउन पनि सरकारले सबै वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीबाट परिचालन गर्ने नीति लिएको स्पष्ट पारे । प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा ७८ प्रतिशत वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीबाटै प्राप्त भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा बहुराष्ट्रिय विकास साझेदार संस्थाहरुमार्फत् करिव १ अरव ३९ करोड ४६ लाख अमेरिकी डलर नेपालमा परिचालन भएको छ । त्यसमध्ये सबैभन्दा बढि सहायता विश्व बैंकले गरेको छ ।

विश्व बैंकले नेपालको विकासका लागि ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता गरेको छ । त्यसपछि दोस्रोमा नेपाललाई एशियाली विकास बैंकले २९ करोड १७ लाख विकास सहायता उपलब्ध गराएको छ ।

प्रतिवेदनमा द्धिपक्षीय विकास साझेदारहरुमध्ये अमेरिकाले सबैभन्दा बढि १२ करोड ३९ लाख डलर सहयोग गरेको छ । त्यसपछि जापान, चीन र भारत रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत् आउने रकम विगतका वर्षहरुमा भन्दा घटेको सो प्रतिवेदनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);