राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै कसले के भने ?

sadan

काठमाडौं, २ माघ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन, उखु किसानका समस्या समाधान लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य रामलखन चमारले उखु किसानको समस्याको दीर्घकालिन समाधानका लागि किसान, मिल संचालक र प्राविधिकहरु सम्मिलित उच्चस्तरीय कृषि आयोग गठन गर्न माग गरे । बर्षेनी उखु किसान र मिल संञ्चालकबीच उखु खरिदको मुल्य र सरकारी अनुदान, खरिद मुल्य लगायतमा समस्या देखिने गरेको भन्दै उनले सबै समस्याको दीर्घकालिन समाधानका लागि भिन्नै आयोग गठन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले नेपाल प्राकृतिक विपतको अत्याधिक जोखिममा रहेको मुलुकमा रहेको भन्दै ति जोखिमबाट बच्नको लागि योजनताबद्ध रुपमा सबै तहमा कार्यक्रम संचालन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले विद्युतीय सवारी साधन संचालनको प्रयोग सरकारी कार्यालयबाट नै सुरुवात गर्न पनि उनले सुझाव दिए ।

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनको स्वास्थ्यमा गिरावट आउने क्रम बढेको भन्दै डाक्टर केसीको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई सचेत गराए । डाक्टर केसीसंग आफैले गरेको सम्झौता कार्यान्वयनमा सरकारलाई कसले रोकेको छ भनी प्रश्न गरे ।

उनँले विपी कोइराला प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सकहरुलाई गृहमन्त्रालयको आदेशमा फर्काईएको विषयले आफुहरुलाई थप चिन्तित बनाएको भन्दै त्यसबारे सत्य तथ्य जानकारी गराउन माग गरे ।

उनले भने “आजको अर्को एउटा समाचार छ । जसले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ । विपी कोइराला प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सकहरुलाई गृहमन्त्रालयको आदेशमा फर्काईयो । यो सत्य हो कि होइन सरकारले समयमै मुख खोलेको बेस । ”

सरकारले बुद्धिजीवीहरुलाई ठेगान लगाउने प्रयास गरिरहेको भन्दै उनले डाक्टर केसीको मागलाई पनि सोही ढंगले हेरेको हो भने त्यो ठुलो र्दुभाग्य हुने चेतावनी दिए । उनले बहुमतबाट विधेयक पारित गर्ने प्रयास गरिए डाक्टर केसीको पक्षमा आवाज बुलन्द हुने तर्फ हेक्का राख्न पनि सरकारलाई सचेत गराए ।

राष्ट्रियसभा सदस्य राजकुमार कुँवरले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनका मृतक सबैलाई शहिद घोषणा गरि घाईते र अपांग भएकालाई उपचार र जीवननिर्वाह भत्ता उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निवृत्तभरण कोष विधेयक २०७५ र भुक्तानी तथा फर्यौट विधेयक २०७५ टेबल भएको छ । बैठकमा विज्ञापन (नियमन गर्ने) विधेयक २०७५, जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन)विधेयक २०७५ र नागरिक लगानी कोष(दोश्रो संशोधन) विधेयक २०७५ पेश भएको छ । तीनै विधेयक सभा समक्ष पेश गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सुचना परेका थिएनन् ।

साथै बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मति पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी सोमबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);