काठमाडौँ ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्परालाई तोड्दै वैचारिक बहसको संस्कृति विकास गर्ने उद्घोष गर्नुभएको छ । पार्टीको १५ औँ महाधिवेशनमा बन्द सत्रलाई सोमवार सम्बोधन गर्दै उहाँले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने संस्कारको खाँचो रहेको बताउनुभएको हो । उपसभापति शर्माले लोकतान्त्रिक पार्टीमा फरक मत र प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै गुटको अन्त्यको अर्थ विचारलाई निषेध गर्नु नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र रोजगारी जस्ता समसामयिक विषयमा व्यापक नीतिगत बहस गरिरहेको उल्लेख गर्नुभयो । शर्माले राजनीतिक संस्कारमा आएको क्षय अचानक नभएको भन्दै यसको उपचारका लागि काँग्रेसले नै नेतृत्व लिनुपर्ने दाबी गर्नुभयो । महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस’ रहेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तनसँगै पार्टीको सोच, शैली र चरित्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनाव जित्ने तयारीभन्दा नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माणलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।–





