भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ट्रकले स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा चार जना विद्यार्थीको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । मंगलवार कन्नौज जिल्लास्थित आगरा–लखनउ एक्सप्रेसवेमा उक्त दुर्घटना भएको हो । शैक्षिक भ्रमण सकेर घर फर्किरहेका विद्यार्थी सवार बस सडक किनारमा रोकिराखेको अवस्थामा तिब्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा बसको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा विद्यार्थीका साथै शिक्षकहरू पनि घाइते भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा बसको पछाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको देखिएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।




