चिनियाँ अन्तरिक्ष अभियानमा पाकिस्तानी नागरिक सहभागी भएपछि देशभर उत्साह, ऐतिहासिक उपलब्धिको प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८३, बिहीबार

चिनियाँ अन्तरिक्ष अभियानमा पाकिस्तानी नागरिक सहभागी भएपछि देशभर उत्साह, ऐतिहासिक उपलब्धिको प्रशंसा

चीनको अन्तरिक्ष अभियानमा पहिलोपटक पाकिस्तानी अन्तरिक्षयात्री सहभागी भएपछि पाकिस्तानमा उत्साह र खुशी व्यक्त गरिएको छ । चीनले बुधवार तीन जना अन्तरिक्षयात्रीसहितको ‘शेन्झाउ–२४’ मानवयुक्त अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त अभियानमा पाकिस्तानी पेलोड विशेषज्ञ मुहम्मद जीशान अली पनि सहभागी छन् । उनी चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ भ्रमण गर्ने पहिलो विदेशी अन्तरिक्षयात्री बनेका छन् । यस उपलब्धिलाई पाकिस्तानका अन्तरिक्ष विज्ञ, प्राध्यापक तथा विद्यार्थीहरूले ऐतिहासिक भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरूले अलीलाई अन्तरिक्ष यात्राको सफलताको शुभकामना दिँदै उनको उपलब्धिले पाकिस्तानी युवालाई अन्तरिक्ष विज्ञानमा अघि बढ्न प्रेरणा दिने बताएका छन् । पाकिस्तानको अन्तरिक्ष तथा माथिल्लो वायुमण्डल अनुसन्धान आयोगकी अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान आदानप्रदान निर्देशक आयशा जगिरानीले यो उपलब्धि पाकिस्तानको इतिहासमा महत्वपूर्ण माइलस्टोनका रूपमा दर्ज हुने बताइन् । त्यस्तै, आयोगअन्तर्गत जलवायु परिवर्तनका लागि अन्तरिक्ष अनुप्रयोग केन्द्रका उपमहानिर्देशक मुहम्मद फारुकले यो उपलब्धि अलीका साथै २५ करोड पाकिस्तानी नागरिकका लागि गौरवको विषय भएको बताए । अन्तरिक्ष विज्ञान, प्रविधि तथा अनुप्रयोगसम्बन्धी प्राध्यापक नजाम अब्बासले यस अभियानले पाकिस्तान र चीनबीच अन्तरिक्ष विज्ञानको क्षेत्रमा थप सहकार्य र वैज्ञानिक उपलब्धिको सम्भावना बढाउने विश्वास व्यक्त गरे । अन्तरिक्ष प्रविधि संस्थानका सहप्राध्यापक अब्दुल वाहिदले अलीलाई सम्बोधन गर्दै भने, ‘जीशान, तिमीले हाम्रा सपनालाई साकार पारिरहेका छौ । सम्पूर्ण राष्ट्र तिमीप्रति गर्व गर्छ ।’
अन्तरिक्ष विज्ञानमा रुचि राख्ने विद्यार्थीले पनि अलीको यात्रालाई प्रेरणादायी बताएका छन् । उनीहरूको भनाइमा यस उपलब्धिले पाकिस्तानी विद्यार्थीका लागि अन्तरिक्ष यात्राको नयाँ बाटो र सम्भावना देखाएको छ । उनीहरूले अलीको सफलताले अन्तरिक्षमा पुग्ने सपना देख्ने नयाँ पुस्तामा आशा र आत्मविश्वास जगाएको बताएका छन् ।

Leave a Reply