इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको ट्रकमा आगलागी हुँदा ३० जनाको मृत्यु, २५ घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८३, बिहीबार

इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको ट्रकमा आगलागी हुँदा ३० जनाको मृत्यु, २५ घाइते

इजिप्टको राजधानी कायरो नजिकै पर्ने गिजा प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बुधवार अल–वराक जिल्लास्थित रिङ रोडमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनामा परी आगलागी भएको इजिप्टको सार्वजनिक अभियोजन कार्यालयले जनाएको छ । आगलागीका कारण कार र मोटरसाइकलसहित २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । घटनाबारे सार्वजनिक अभियोजन कार्यालयले अनुसन्धान शुरु गरेको जनाएको छ । दुर्घटनाको कारण र घटनाको वास्तविक अवस्था पत्ता लगाउन अभियोजनकर्ताहरूको टोली घटनास्थलमा खटाइएको छ । घाइतेहरूको बयान लिन तथा मृतकहरूको अवस्था परीक्षण गर्न टोली अस्पतालसमेत पुगेको छ । पहिचान खुल्न नसकेका मृतकहरूको सनाखतका लागि डीएनए परीक्षण गर्न पनि आदेश दिइएको छ । मृतक तथा घाइतेको अन्तिम संख्या र भौतिक क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायलाई घाइते तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनुभएको छ । त्यस्तै, प्रधानमन्त्री मोस्तफा मदबुलीले घाइतेहरूको उपचार, प्रभावितलाई क्षतिपूर्ति तथा दुर्घटनाको तत्काल अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । सामाजिक एकता मन्त्री माया मोर्सीले घटनास्थलमा राहत तथा उद्धार सहयोगका लागि इजिप्टियन रेड क्रिसेन्टसँग समन्वय गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार उद्धार कार्यमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । स्वास्थ्य मन्त्री खालिद अब्देल गफ्फारले घाइतेहरूको अवस्थाबारे जानकारी लिन अस्पतालहरूको निरीक्षण गर्नुभएको छ ।

Leave a Reply