असाधारण बौद्धिक क्षमता भएका याम खाम्चाकाे साहित्यकार बन्ने धाेकाे | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

असाधारण बौद्धिक क्षमता भएका याम खाम्चाकाे साहित्यकार बन्ने धाेकाे

प्रकाश नेपाल
पाल्पा, १६ पुस । रामपुर नगरपालिका–१, बर्दाकोट पाल्पाका मान बहादुर र योगमायाका माइलो छोरा खाम्चाका दुबै हात छन् तर राम्ररी चल्दैनन् । उनी सुन्न र देख्न सक्छन् तर बोल्न भने सक्दैनन् ।

कुपोषणका कारण शरिरका केही अंगले काम नगरे पनि दुई गोडाको सहायताले भए पनि यामले आफ्नो पढाई कक्षा नौ सम्म पु¥याएका छन् । अध्ययनका लागि आमा र बहिनीको सहयोगमा घरबाट आधा घण्टाको दुरीमा रहेको बालहित मावि निस्दी–२, आनन्दीमा पुग्ने गरेका, खाम्चाको बौद्धिक क्षमता भने असाधारण देखिएको छ ।

साधारण विद्यार्थीसंग एउटै कोठामा अध्ययन गर्दै आएका उनी पढाईमा पनि तेज भएको उनका शिक्षक पशुपति रेग्मी बताउँछन् ।

याम राम्रो कविता पनि लेख्छन् । खुट्टाको सहायताले लेखेर आफ्नो विचार साटासाट गर्ने तथा अरु साथीलाई सिकाउन पनि उनी पछि पर्दैनन् । कुपोषणका कारण ८ वर्षसम्म ओछ्यानमा विताएका यामलाई आमाले आफु काममा जानु पर्ने भएकाले बहिनीसंग गाँउकै स्कुलमा छाड्ने गरेका थिए ।

उनले विस्तारै पढ्न सिकेकाले १२ वर्षको उमेरमा विद्यालयमा भर्ना गरिदिएका थिए । कक्षामा अन्य साथीहरु बेन्चमा बसेर पढी रहेका बेला उनी भने भुँईको चटाईमा बसेर पढी रहेका भेटिन्छन् ।

गाउँको विद्यालयमा अपांग मैत्री प्रविधि र विशेष कक्षा नभएकाले उनको सहजताको लागि विद्यालयले भुँईमा बस्ने व्यवस्था मिलाएको छ । विद्यालयले जिल्ला शिक्षा समन्वय इकाई पाल्पासंग मिलेर खाम्चालाई ‘क’ वर्गको छात्रवृति उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक नवल सिं विरकट्टाले बताए ।

याम हिजो आज खुट्टाको सहायताले एसएमएस मार्फत मोबाईलमा कुरा गर्न थालेका छन् । अधिकांश समय पढाईमा विताउने उनले फुर्सदको समय फेसबुक मार्फत नयाँ जानकारी पनि लिन भ्याउँछन् ।

हामीले भविष्यमा गएर के बन्न चाहान्छौ ? तिमीलाई पढ्नको लागि कुनै अप्ठ्यारो परेको छ ? भनी लेखेर दिएको प्रश्नमा उनले एसएमएसबाट आफुलाई पढ्नमा कुनै अप्ठ्यारो नपरेको र भविष्यमा साहित्यकार बन्न चाहेको बताए ।

छोराले गरेको प्रगति देखेर आमा बाबु पनि दंग छन् । छोराले अब त केही गर्ला भन्ने आशा पलाएको अभिभावकहरु बताउँछन् ।

पछिल्लो समय उनको बायाँ हात झनै शिथिल बन्दै गएको प्रति उनको परिवार चिन्तित छ । तर, यामको साहसले थप उर्जा थपेको छ । चुनौतीलाई जितेर अघि बढ्न पक्कै पनि सानो साहसले पुग्दैन । यामको साहसले उनको जीवनलाई मात्र अघि बढाएको छैन उनी जस्तै अन्य कुपोषित बालबालिकालाई समेत प्रेरणा थप्ने कार्य गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);