संसदीय चुनावको रौनकमा कहाँ छन् महानगरका ६ मेयर ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदीय चुनावको रौनकमा कहाँ छन् महानगरका ६ मेयर ?

काठमाडौं। देश प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा छ । अबको एक सातापछि खुला चुनाव प्रचारप्रसारको समय पनि सकिँदैछ । अहिले प्रमुख दल र तिनका उम्मेदवार मात्र होइन, टिकट नपाएका र समर्थकहरूसमेत प्रचारप्रसारमा लागेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको झै तामझाम यसपटक देखिएको छैन । तर पनि सहरमा भन्दा ग्रामीण क्षेत्रमा चुनावको रौनक बढी नै देखिएको छ । यस्तो चुनावी माहोलमा पनि देशका ६ महानगरका प्रमुखहरू के गर्दैछन् ? वैशाखमा उनीहरूको मात्रै चर्चा हुन्थ्यो । तर, चुनाव जितिसकेपछि एक दुई मेयरबाहेक कोही पनि चर्चामा देखिएका छैनन् । काठमाडौंबाहेक पाँचजना मेयर दलबाटै निर्वाचित भएका थिए । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन भने स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । स्वतन्त्रबाट विजयी भएकाले उनले कुनै दल र उम्मेदवारको पक्षमा भोट माग्ने कुरै भएन । तर पनि उनको तस्बिर र भनाइ भन्दै लौरो अभियानले चुनावी फन्डा बनाएको छ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन चुनावको माहोलमा पनि मौन छन् । उनी कतै देखिएका छैनन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । ललितपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा सिट पाएको छ । महर्जनले जितेको महानगरमा ललितपुर २ र ३ निर्वाचन क्षेत्र पर्छन् । ललितपुर २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल उठेका छन् । कांग्रेसको उम्मेदवार नभएकाले मात्र होइन, अहिलेसम्म गठबन्धनले उनलाई चुनावी प्रचारमा नबोलाएको बुझिएको छ ।  पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य मेयर छन् । पोखरा महानगरपालिकामा कास्की १,२ र ३ वटै निर्वाचन क्षेत्र पर्छन् । कास्की २ मा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार बनेका छन् । तर पार्टीकै उम्मेदवारका लागि पनि आचार्य खुलेर भोट माग्न बाहिर आएका छैनन् । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन् । महानगरपालिकामा चितवन क्षेत्र नम्बर ३ र २ का केही वडा पर्छन् । चितवन ३ मा माओवादीकै डा.भोजराज अधिकारी उम्मेदवार छन् । मेयर दाहाल भने पार्टीका उम्मेदवारका लागि चुनावी प्रचारमा हिँडेकी छन् । उनी केही वडामा घरदैलोमा पनि हिँडेकी छन् ।

मधेस प्रदेशको वीरगन्ज महानगरपालिकामा जसपाका राजमान सिंह श्रेष्ठ मेयर छन् । पर्सा १ को अधिकांश क्षेत्र महानगरपालिकामा पर्छ । पर्सा १ बाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । मेयर सिंह भने खुला रूपमा भन्दा पनि भूमिगत रूपमा प्रचारप्रसारमा लागेका छन् । सो क्षेत्रमा लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका बागी अजय द्विवेदी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

प्रदेश १ को विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर छन् । मोरङमा कांग्रेसबाट सुजाता कोइराला, सुनिल शर्मा, शेखर कोइराला उम्मेदवार बनेका छन् । तर पनि नागेश कोइराला चुनावी अभियानमा लागेका छैनन् । निर्वाचन आयोगले जनप्रतिनिधिलाई आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारप्रसारमा लाग्न छुट दिए पनि कांग्रेसबाट जितेका मेयर भने कतै प्रचारप्रसारमा नलाग्नुको कारण गठबन्धन रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);