यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण

काठमाडौं । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा आयोजित कार्यक्रममा व्यस्त बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै तनहुँ जाँदैछन् ।

नुवाकोट, रामेछाप, दोलखा र काभ्रेमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका देउवा १० चैतमा तनहुँमा जान लागेका हुन् । तनहुँ महोत्सवको उद्घाटन र एउटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न देउवा त्यसतर्फ जाँदैछन् ।

देउवाको साथमा तनहुँ गृहजिल्ला भएका कांग्रेस नेता रामचन्द्र पौडेल पनि सहभागी हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । देउवाले जिल्ला महोत्सवको उद्घाटन गर्नुको साथै रिसिङ गाउँपालिकामा एउटा भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री देउवा र नेता पौडेल जिल्लामा आउने भएपछि चुनावी कार्यक्रम पनि सफल पार्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । 

यी बाहेक पनि देउवा अन्य जिल्लाका कार्यक्रममा जाने तयारी गरेको बुझिएको छ । औपचारिक कार्यक्रम र भवन उद्घाटनमा जाने भनिए पनि उनी चुनाव लक्षित प्रचारमा गएको देख्न सकिन्छ । औपचारिक कार्यक्रमको नाम दिएर जिल्लाका नेता कार्यकर्ता भेट्न पुगेको उनका भाषण र अभिव्यक्तिले प्रस्ट पारेको छ । गएका प्रत्येक कार्यक्रममा देउवाले चुनाव लक्षित विषयवस्तुमा केन्द्रित भएका बोलेका छन् भने प्रभावकारी ढंगले चुनावको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

देउवाले नुवाकोटमा किस्पाङ र तादी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए भने रामेछापमा खिम्ती सवस्टेसनको उद्घाटन गरे । दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै काभ्रेमा तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन पनि गर्न पुगेका थिए । चुनावको मुखमा औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी हुन भनेर गएपनि उद्देश्य भने चुनाव केन्द्रित गतिविधि बढाउने नै देखिएको छ । देउवा पुगेका सवै जिल्लामा पार्टी सभापति र कार्यकर्तासँग छुट्टै भेटघाट गरेर पार्टीको संगठन निर्माण र चुनाव केन्द्रित कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  

कांग्रेस काभ्रेका सभापति तिर्थबहादुर लामाले प्रधानमन्त्रीसँगको भेटले ऊर्जा मिलेको बताए । कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले पनि प्रधानमन्त्रीसँग औपचारिक कार्यक्रमबाहेक छुट्ट भेट भएको बताएका छन् । 

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले चुनावको मुखमा नेताहरू जनतासँग जोडिन चाहने भएकाले त्यही मौका छोपेर सकेसम्म बोलाएको सबै कार्यक्रममा जान खोज्ने बताए । ‘देश निर्माण, विकास र सुशासनमा महत्वपूर्ण निर्णय नगरी हल्लिएर बस्नुभन्दा जनताले बोलाएको ठाउँमा नेताहरू पुगेका हुन्, निर्वाचन आचारसंहिता सुरु भएपछि प्रचार गर्न नपाउने भएकाले पनि नेताहरुलाई अहिले दौडधूप बढेको छ,’ उनले भने ।

कांग्रेसले पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई चुनावी प्रचार अभियानमा खटाएको छैन । तर पार्टी सभापतिसहित अन्य नेताहरू आफ्नो अनुकूलतामा विभिन्न जिल्लामा पुगिरहेका छन् । 

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विभिन्न कार्यक्रममा सक्रिय भएका छन् । यी सबै सक्रियतालाई चुनावी प्रचार प्रसारकै रूपमा लिन मिल्ने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको बुझाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);