चितवन क्षेत्र नम्बर एक मा टिकटको लागि रोचक प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चितवन क्षेत्र नम्बर एक मा टिकटको लागि रोचक प्रतिस्पर्धा

चितवन । चितवनको क्षेत्र नम्बर १ मा आउदो संघिय चुनाबको लागि संभावित उमेदवारहरुको भिडन्त रोचक हुन सक्ने देखिएको छ । राष्ट्रिय रुपमा पनि स्थान बनाइसकेका केहि ब्यक्तिहरु नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक संसदिय चुनाबको लागि नाम सुचिकृत भए पश्चात यो भिडन्त अझै रोचक र कठिन हुन सक्ने देखिएको हो ।
बहुदल पस्चात झन्डै एकक्षत्र राज गरेको नेकपा एमाले यतिबेला भौतिक र मनोबैज्ञानिक रुपमानै कमजोर छ । संख्याको हिसाबले खासै कमजोर नदेखिएपनि पार्टी फुटको असर गाउँ, टोल, वडा, नगर तथा पुरै क्षेत्र नम्बर एकमा परेको छ । जसको ज्वलन्त उदाहरण जेठमा सम्पन्न स्थानीय चुनाबलाई लिन सकिन्छ ।

०७४ को स्थानीय चुनावमा यस क्षेत्रको सबै पालिकाको प्रमुख तथा उप प्रमुख जितेको नेकपा एमाले, यसपट भने खुम्चिएर एक पालिकामा प्रमुख, दुइ पालिकामा उप प्रमुखमा समेटिएको छ । त्यस्तै परम्परागत रुपमा जिल्लामै एमालेको गढ मानिएको राप्ती नगरपालिकामा प्राप्त हारले नेकपा एमालेलाइ ससंकित तुल्याएको छ ।

राप्तिमा प्राप्त हार पस्चात एक अर्कालाई दोषारोपण गर्दै नेकपा एमाले आन्तरिक रुपमा ध्रुवीकृत बन्न पुगेको छ । जसको प्रत्यक्ष फाइदा नेपाली काङ्ग्रेस तथा गठबन्धनमा आवद्ध दलहरुलाइ हुन जाने देखिन्छ । यो ध्रुवीकरणले एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको मुस्किल अझै बढाएको छ। संघीय चुनाबमा पाण्डेको लागि दुई दुई पटक प्रत्यक्ष निर्वाचन मार्फत जितको लागि भुमिका खेलेको राप्ती नगरपालिका, स्थानीय चुनाबमा जिताउन नसक्नुको कारण पार्टी तथा कार्यकर्ताहरुले पाण्डेबाट खोजिरहेका छन ।

त्यसै कारण पनि पार्टीको बिश्वास आर्जन गर्न तथा जित सुनिश्चित गर्न उनलाई कठिन छ । त्यसो त एमालेको आन्तरिक विवादले लय समाउदा दुई दुई जना केन्द्रिय सदस्य रहेको राप्ती ७ मा वडा अध्यक्षमा नै पराजय भोग्नु पर्यो । जसको उत्तर कार्यकर्ताहरुले केन्द्रीय सदस्यद्वय सीता पौडेल र प्रभा बरालबाट खोजिरहेका छ्न ।
आउदो संघिय निर्वाचनमा क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचनमा हालका संसद सुरेन्द्र पाण्डे र एमालेका केन्द्रिय सदस्य जे एन थपलियाको नाम प्रस्ताब गरिएको छ । तर पार्टी भित्रकै खेमा एक अर्काको बिरुद्धमा छन ।

केन्द्रिय उपाध्यक्षमा लगातार जित हासिल गरेको र अर्थ मन्त्री भैसकेको मान्छे लाई नै दोहोर्याउनु पर्ने एक पक्षको भनाइ छ भने अर्को पक्ष सधै एकै जनालाई उमेदवार बनाउदा मतदाता बिच्किने तर्क गर्छ्न । त्यस्तै पार्टीमा मतभेद हुदा पार्टी अध्यक्षको विपक्षमा उभिएको, बिभाजनकारिहरुलाइ सहयोग गरेको तथा स्थानीय चुनावमा सकारात्मक भुमिका खेल्न नसकेको उनिमाथी आरोप छ।

नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत रहेका थपलिया बौद्धिक नेताका रुपमा परिचित छ्न । बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकार भएर काम गरिसकेका थपलियाले अहिलेसम्म प्रत्येक्ष निर्वाचन लड्ने अवसर पाएका छैनन् । त्यसैले यसपटक भने आफैले टिकट पाउनुपर्ने थपलियाको अडान छ । यस भन्दा अघिका चुनाबहरुमा पार्टीका उमेदवारहरु जिताउन अहं भुमिका खेलेको तथा अघिल्ला चुनावहरुमा अन्य नेताहरुलाइ मार्ग प्रसस्त गरेकोले अब भने आफ्नै पालो रहेको थपलिया दावी गर्छ्न । “ उमेरको कारणले पनि आउने दिनहरुमा मेरो संभावना न्यून छ। त्यसैले साथिहरुले परिस्थिति बुझिदिनु हुनेछ भन्ने बिश्वास लिएको छु । “ उनले भने ।
तर थपलियाको जनाधार कमजोर रहेकोले जित्ने र जनतामाझ परिचित ब्यक्तिनै उमेदवार हुनुपर्ने अर्काथरिको भनाइ छ । एमाले भित्र जे जस्तो आन्तरिक बिबाद भएपनी त्यसको मुख्य सार केपि ओलि र ओलि इतरका गुटहरुको भएको कार्यकर्ताहरुको बुझाइ छ। त्यसैले पनि संघ तथा प्रदेशको उमेदवार चयन गर्दा ओलि र ओलि इतरको प्यानल दुबैलाइ भागबन्डा मिलाउनुको बिकल्प छैन । त्यो नेकपा एमालेले राम्ररी बुझेको छ ।
यता आफूले तेस्रो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुने मनसाय व्यक्त गरेको भएपनी कयौ पटक चुनाब लडिसकेको भनेर हल्ला फिजाइएको सुरेन्द्र पाण्डे बताउछ्न । आफ्नो कार्यकालमा उल्लेखनिय कामहरु भएपनी त्यसलाइ नजर अन्दाज गरिएको उनको दावी छ।
वि.सं. २०७० र वि.सं. २०७४ को निर्वाचनमा पाण्डेले नेपालि काँग्रेसका नेता राजेन्द्र प्रसाद बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गरेका थिए ।
यता नेपाली काङ्ग्रेस बाट चितवनको क्षेत्र नम्बर १ को संघिय निर्वाचनमा प्रतिस्पर्धा गर्न पहिलोपटक बौद्धिक ब्यक्तिहरुले पनि इच्छा देखाएका छ्न । त्यसै ब्यक्तिहरु मध्य राष्ट्रिय योजना आयोगका बर्तमान उपाध्यक्ष डा बिश्वनाथ पौडेल पनि एक हुन । पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका पौडेल बौद्धिक, स्वच्छ छवि भएको र स्थानिय पनि भएकोले टिकट उनैले पाउनु पर्ने केही कार्यकर्ताहरुको तर्क छ । त्यसो त पौडेलको दौडधुप पछिल्लो समय अझै बढेको छ। उनी भने आफू अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकोले हतारमा राजनितिक कुरामा सवाल जवाफ नगर्ने बताउछ्न । “टिकट कन्फर्म गरौ अनिमात्र राजनैतिक टिप्पणी गरौला “ उनले भने ।
त्यस्तै संघीय सांसदको लागि नेपाली काङ्ग्रेसबाट प्रत्यक्ष तर्फ दाबेदारी प्रस्तुत गर्ने अर्का बौद्धिक ब्यक्ति, राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्ले पनि हुन। अष्ट्रेलियाको नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तराष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । वाग्ले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेको अनुभव छ ।

त्यस्तै संघीय निर्वाचनमा दाबेदारी प्रस्तुत गर्ने अर्का ब्यक्तिमा नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि छ्न । श्रेष्ठले चितवन क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचन लड्ने योजना बनाएको भएपनी क्षेत्र नम्बर १ बाट समेत दाबेदारी प्रस्तुत गरेका छ्न । प्रतिनिधि सभाको निर्वाचनमा दाबेदारी प्रस्तुत गर्ने अन्य ब्यक्तिहरुमा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा.तीर्थ खनिया पनि छ्न । त्यस्तै नेता राजेन्द्र बुर्लाकोटी र भिमप्रसाद थपलिया पनि पार्टी टिकटको लागि प्रयासरत छ्न ।

वि.सं. २०७० र वि.सं. २०७४ को संघिय निर्वाचनमा एमालेका सुरेन्द्र पाण्डे सग हार बेहोरेका बुर्लाकोटी यस पटक जितको लक्ष्य लिएर दाबेदारी प्रस्तुत गरिएको बताउछ्न । कठिन समयमा आफुले पार्टीको तर्फबाट चुनाव लडेकोले अहिले पार्टीले आफुलाइ पन्छाएर अरुलाइ टिकट दिन्छ भन्ने नलागेको उनी बताउछ्न । आफू निरन्तर जनताको घर दैलोमा रहेकोले र जनताले आफैलाइ खोजिरहेकोले पार्टी टिकट आफैले पाउने उनी तर्क गर्छ्न ।

नेपाली काङ्ग्रेसको तर्फबाट पछिल्ला केहि संसदिय चुनाबहरुमा दाबेदारि प्रस्तुत गर्नेहरु भन्दा यसपटक राष्ट्रीय स्तरमै परिचय बनाएकाहरु सिफारिस भएका छ्न । जसले नेकपा एमालेका उमेदवारहरुलाइ कडा टक्कर दिन सक्ने आकलन छ । तर ती राष्ट्रिय रुपमा छवि बनाएकाहरु जनातासग परिचित नहुनुको फाइदा एमालेलाइ हुने छ ।
यता गठबन्धनको एक घटक समाजबादिका बहालवाला प्रदेश मन्त्री कृष्ण खनाल समेत चुनिबी प्रतिस्पर्धाको दौडमा छ्न । जसको नाम पार्टीले अनुमोदन गरिसकेको छ । समाजबादी पार्टि चितवनको अन्य क्षेत्रमा भन्दा यसै क्षेत्रमा बढी बजबुत भएकोले पनि यो क्षेत्र समाजबादिलाइ नै छोड्नु पर्ने उनिहरुको दाबी छ । त्यस्तै समाजवादिका खनाल, गठबन्धनको साझा उमेदवार भएमा नेकपा एमालेको धेरै मत खिच्न सक्ने उनिहरुको विश्लेषण छ ।
गठबन्धनको मोडालिटी आफुहरुले निर्धारण गर्ने नभएपनी चितवनको क्षेत्र नम्बर एकमा आफुहरुको दाबी रहेको कृष्ण खनाल बताउछ्न । केन्द्र बाट कुनै ठोस निर्णय नआइसकेको अवस्थामा यो क्षेत्र आफुहरुले पाउनु पर्ने उनको तर्क छ ।
यता काङ्ग्रेसले यो क्षेत्र प्राप्त गरेमा समाजवादीका मतदाताहरु एमाले तिरै ढल्किने हुन कि भन्ने आसंका पनि छ । तर गठबन्धनको निर्णय नआइसकेकोले यो क्षेत्र कसको पोल्टामा पर्ने हो र मतदाताको मनोभावना कस्तो हुने हो यसै भन्न सकिँदैन ।

दिलिप शर्मा

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);