व्यक्तिगत स्वार्थका कारण गुटबन्दी हावी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

व्यक्तिगत स्वार्थका कारण गुटबन्दी हावी

काठमाडौं, २५ कात्तिक । प्रमुख राजनीतिक पार्टीभित्र अहिले व्यक्तिगत स्वार्थका कारण गुटबन्दी हावी हुन थालेको छ ।

पार्टी भित्र गुट उपगुट सक्रिय हुँदा पार्टी भित्रै पक्ष प्रतिपक्ष जस्तो देखिन थालेको छ । नेपालमा पार्टी भित्रको गुट उपगुटका कारण विगतमा पार्टी टुक्रिएकोदेखि सत्ताबाट बाहिरिनु परेकोसम्म नजिर छ । यसबाट पार्टीले पाठ नसिके पार्टी नै समाप्त हुुन सक्ने राजनीतिक बिष्लेषकहरुले बताएका छन् ।

नेपालमा पार्टिभित्रको गुुटवन्दी नयाँ होइन, पुरानै हो । गुटबन्दीका कारण नेतृत्व कमजोर मात्र हुंदैन पार्टी नै कमजोर हुन्छ र पार्टीले चलाएको सरकार पनि कमजोर हुन्छ । यसको प्रभाव अहिलेको सत्तारुढ दल नेकपामा देखिन्छ र त्यसको प्रभाव तीन तिहाई बहुमतका सरकारमा देखिन्छ ।

शक्तिशाली दलको सरकार भएर पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको भनेर ओली सरकार अहिले आलोचनाको शिकार भएको राजनीतिक विश्लेषकहरु बताउंछन । ओली सरकार मात्र होइन यस अघिका विभिन्न सरकार पनि पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण कमजोर सावित भएका उदाहरण प्रशस्तै देखिन्छ । पार्टी भित्रको गुटबन्दी समयमै व्यवस्थापन हुन नसक्ने हो भने यसले कालान्तरमा पार्टी नै समाप्त हुने स्थिति आउने राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

२०७४ को निर्वाचन पछी तत्कालीन नेकपा एमाले र माओवादि पार्टी बिच एकता भयो र नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भयो । निर्वाचनपछि ५ वर्षको जनादेश पाएको नेकपाको दुुई तिहाईको बलियो सरकार छ । सरकार गठन भएको झन्डै नौ महिना बितेको छ । तर नेकपा भित्रको गुट उपगुटको लडाईले सोचेजस्तो कुनै बिकास हुुन सकिरहेको देखिदैन । यसको पछिल्लो उदाहरण सत्तापक्षकै शीर्ष नेताहरुको सरकारबारे गरिएको टिप्पणी र भाषणहरुले स्पष्ट पार्छ ।

२०४८ सालको आमनिर्वाचनपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार थियो । आन्तरिक गुटबन्दीकै कारण मध्यावधी चुनावमा जांदा कांग्रेस प्रतिपक्षी दल हुन पुग्यो । अहिले प्रतिपक्षी दलकै रुपमा रहंदा पनि काँग्रेस भित्र गुट उपगुटका कारण पार्टी भित्र किचलो बढ्दो छ । महाधिवेशन बैठक पर धकेलिएको छ भने भातृ संगठनहरुको नेतृत्व चयनमा समयस्या देखिएको छ । लामो समयपछि पार्टीको केन्द्रीय उपसभापतिमा पार्टी सभापतिले विजय कुमार गच्छेदारलाई मनोनित गर्दा पार्टी भित्र त्यसको व्यापक विरोध भएको देखिन्छ । अहिले सार्वजनिक रुपमा नेतृत्व तहबाट नै असन्तुष्टि व्यक्त भइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सत्तामा पुगेपछि आन्तरिक गुटबन्दीकै कारण तीन टुक्रा भएको छ । अहिले एकीकरणको लागि प्रयास गर्दैछ ।

फुटेर बनेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादीका अध्यक्ष डा. प्रकासचन्द्र लोहनी ठुला दलको स्वार्थमा पर्दा आफ्नो पार्टी भित्र फुट आएको बताउनु हुन्छ । अहिले नेपालमा नेकपाको तीन तिहाइको बलियो सरकार छ । जुन सरकारवाट आम नेपालीले देशमा विकास हुुने र जनताले सुुख पाउने ठूलो अपेक्षा गरेका छन । सम्वृद्ध नेपाल, सुखी नेपालीको नारा यो सरकारले बोकेको छ । तर विहानीले दिनको संकेत गर्छ भने झै सरकार गठनको आठ महिनाको यो अवधीमा जनता आश्वस्त हुन सकिरहेका छैनन ।

पार्टी भित्रको आन्तरिक कलहको कारण सरकार प्रभावकारी बन्न नसकेको स्पष्ट देखिन्छ । प्रमुख दलहरुको पछिल्लो अवस्थालाई हेर्दा न सत्तापक्षले राम्रो काम गर्न सकेको देखिन्छ न प्रतिपक्षी दलले नै सकेको छ । चरम गुटबन्दीको चंगुलमा प्रमुख दलका प्रमुख नेताहरु नै देखिन्छन । यसको अन्त्य अब कहिले होला? यो सर्वसाधारणको मनमनमा उठने प्रश्न हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);