नेकपाभित्र गुट–उपगुट चल्दैन : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाभित्र गुट–उपगुट चल्दैन : ओली

kp oli

काठमाडौं, १५ चैत । प्रधानमन्त्री एवं नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट उपगुट नचल्ने बताएका छन् । नेकपा प्रदेश ३ कमिटीका पदाधिकारी तथा सदस्यको बिहीबार काठमाडौंमा शपथग्रहण एवं प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र गुट उपगुट नचल्ने बताए ।

‘नेतृत्वले कसैलाई पनि काखा र पाखा गर्दैन, दुई पार्टीको एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन्,’ प्रधानमन्त्री ओलीले भने,

‘हामी वैचारिक रूपमा स्पष्ट र सांगठनिक रूपमा बलियो पार्टी हौं त्यसैले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्योल पार्ने काम कसैले पनि गर्नुहँुदैन ।’ यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

पार्टी कमजोर हुँदा नेताहरू कोही जेलमा कोही भूमिगत अवस्थामा रहेको बताउँदै उनले अब पार्टी सबल हुँदा हामी सरकारमा रहेकाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए । नेकपाको एकता भवितव्य नभएको बताउँदै लामो बहस, छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको प्रधानमन्त्री ओलीको बताए ।

‘नेकपा भवितव्य भएर ठूलो पार्टी भएको होइन, पानी बर्से जसरी बहुमत बर्सेको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा जनताको विश्वास, पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिबद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।’

वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको मात्र नभई कम्युनिस्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको बताए । विगतमा कम्युनिस्ट नेतृत्वको सरकार मात्र बनाउन सकेको तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्युनिस्ट पार्टीको बनाएको उनले बताए । कम्युनिस्ट पार्टीको सरकार भएकाले घोषणापत्रअनुसार जनताको आवश्यकता सम्बोधन गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान् कार्यकर्ताले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाए । पार्टी एकताका कारण कतिपय सक्षम नेता कार्यकर्तालाई पनि जिम्मेवारी दिन नसकिएको बताउँदै उनले पानीले आफ्नो आकार आफैं ग्रहण गरेजस्तै सक्षम कार्यकर्ताले पार्टीमा आफ्नो स्थान आफैं बनाउँदै जाने बताए । कामलाई निरन्तरता दिँदै जाँदा कोही पनि निराश हुनुपर्ने अवस्था नआउने उनले बताए । पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतीक्षाको घडी सकिएको उनले बताए । ‘पार्टी एकताका लागि केही विलम्ब भएकै हो,’ ओलीले भने, ‘तर, अब प्रतीक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउनेछ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);