हंगेरीको राष्ट्रपतिमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाका निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

हंगेरीको राष्ट्रपतिमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाका निर्वाचित

हंगेरीको संसदले मंगलवार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाकालाई देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको छ । ७३ वर्षीय बाका निर्वाचनका लागि एकमात्र उम्मेदवार थिए । गोप्य मतदानमार्फत सम्पन्न निर्वाचनमा उनले १४० मत प्राप्त गरेका थिए । उनलाई संसदमा दुई–तिहाइ बहुमत रहेको सत्ताधारी तिस्जा पार्टीले उम्मेदवारका रूपमा मनोनयन गरेको थियो । बाकाले आगामी अगस्ट १९ देखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । निर्वाचित भएपछि आफ्नो सम्बोधनका क्रममा बाकाले राष्ट्रपतिको हैसियतमा आफूले बहुमत र अल्पमत दुवैको विचारलाई प्रतिनिधित्व गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीतिक मतभेदहरूलाई लुकाएर कृत्रिम एकता लाद्नुको सट्टा त्यसलाई स्वीकार गर्दै संवैधानिक शक्ति सन्तुलनको रक्षा गर्ने बताए ।  हंगेरीको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चर्चा गर्दै उनले भने, ‘विगतका केही वर्षहरूमा हाम्रा कैयौँ अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूसँगको सम्बन्धमा गिरावट आएको छ । ती साझेदारीहरूलाई पुनः सुदृढ बनाउनु मेरो कार्यकालको मुख्य प्राथमिकता हुनेछ ।’
कानूनी क्षेत्रमा लामो अनुभव सँगालेका बाकाले सन् १९९१ देखि २००८ सम्म युरोपेली मानव अधिकार अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए । त्यसपछि सन् २००९ मा उनी हंगेरीको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । यद्यपि, तत्कालीन प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले ल्याएको न्यायिक सुधारका कारण सन् २०११ को अन्त्यमा उनको छ वर्षे कार्यकाल बीचैमा छोटिएको थियो ।
हंगेरीको संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । राष्ट्रपतिले संसदबाट पारित कानूनहरू प्रमाणित गर्ने र राज्यको प्रतिनिधित्व गर्ने जस्ता महत्त्वपूर्ण संवैधानिक दायित्वहरू निर्वाह गर्दछन् । साथै, राष्ट्रपति हंगेरीको सशस्त्र बलको परमाधिपति (कमान्डर–इन–चिफ) समेत रहने प्रावधान छ ।

Leave a Reply

ताजा समाचार