हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

हंगेरीको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले शनिवार पिटर माग्यारलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको छ । मतदानमा संसदका कुल १९९ सदस्यमध्ये १९५ जना उपस्थित भएकोमा माग्यारको पक्षमा १४० र विपक्षमा ५४ मत परेको थियो भने एक सदस्य तटस्थ रहेका थिए । हंगेरीको ‘तिस्जा पार्टी नेता माग्यारले आवश्यक बहुमत प्राप्त गरेसँगै उनको चार वर्षे कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा माग्यारले नयाँ सरकारले केवल सत्ता परिवर्तन मात्र नभई समग्र ‘प्रणाली नै परिवर्तन’ गर्ने जनादेश पाएको बताउनु भयो ।

उहाँले देशमाथि शासन गर्नुको सट्टा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दै राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक पुनर्जागरण र राष्ट्रिय एकतामा जोड दिनुभयो । यसै वर्षको अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा माग्यार नेतृत्वको तिस्जा पार्टीले भिक्टर ओर्बानको सत्तारूढ फिडेज–केडीएनपी गठबन्धनलाई ठूलो मतान्तरले पराजित गरेको थियो । उक्त निर्वाचनमा कुल १९९ सिटमध्ये १४१ सिट जित्दै माग्यारको पार्टीले संसद्मा दुई–तिहाइ बहुमत सुनिश्चित गरेको थियो । सन् १९८१ मार्चमा जन्मिएका माग्यारले पाजमानी पिटर क्याथोलिक विश्वविद्यालयबाट कानू्रन र मानविकीमा उच्च शिक्षा हासिल गर्नुभएको छ ।

उहाँले यसअघि प्रशिक्षार्थी न्यायाधीश, अधिवक्ताका साथै परराष्ट्र मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ सन् २०२४ मा तिस्जा पार्टीको नेता र युरोपेली संसद्को सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । माग्यार प्रधानमन्त्री निर्वाचित भएपछि बुडापेस्टस्थित संसद भवन अगाडिको कोसुथ स्क्वायरमा भेला भएका समर्थकहरूले उत्सव मनाएका छन् । सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै उहाँले हंगेरीको उज्ज्वल भविष्यका लागि आशा र एकताको आह्वान गर्नुभयो ।

Leave a Reply