काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाउनुभएको छ ।बिहीवार सर्वाजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा नभएको आरोप लगाउनु भयो । उहाँले विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको बताउनु भयो । कार्यक्रम सञ्चालन, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च हुने तर त्यसको प्रत्यक्ष परिणाम भने नदेखिएको उहाँको आरोप छ ।
उहाँले एनजीओका कार्यक्रममार्फत जातीय तथा साम्प्रदायिक तनाव बढाउने गतिविधि भएको पनि आरोप लगाउनु भयो । राज्यले त्यसलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाई छ । जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधिलाई वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने उहाँको भनाइ छ । उहाँले दलित तथा गरिब समुदायका लागि विनियोजित बजेट कार्यान्वयनमा सरकारी निकायले देखाउने ढिलाइप्रति पनि असन्तुष्टि जनाउनुभयो । पूर्वाधार निर्माणमा तत्काल टेण्डर प्रक्रिया अघि बढ्ने तर लक्षित समुदायको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्याइएको रकम खर्च गर्न अनावश्यक ढिलाइ हुने गरेको उहाँको आरोप छ । उहाँले नेपालमा आउने वैदेशिक सहायता, अनुदान तथा ऋणको प्रभावकारी लेखापरीक्षण र उपयोगमा कडाइ गर्नुपर्ने बताउनु भयो । वैदेशिक स्रोतबाट सरकारको प्रत्यक्ष खातामा नआउने सहायता रकमको समेत लेखापरीक्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाउनु भयो । पोखरा र भैरहवा विमानस्थललगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढाउन नहुने उहाँको भनाई छ ।




