काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेसलाई नयाँ पुस्ताले गर्व गर्न लायक बनाउने बताउनुभएको छ ।
शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आईतवार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको विगतको गौरव गर्न लायक इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तालाई पनि काँग्रेसमा आकर्षित गर्ने बताउनु भयो । नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी भएको उल्लेख गर्दै उहाँले पार्टीको इतिहास, योगदान र लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गर्ने जानकारी दिनुभयो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसको योगदानलाई अलग राख्न नसकिने उहाँको भनाई छ ।
उहाँले शहीद, प्रजातन्त्रका सेनानी तथा तिनका परिवारहरु पार्टीको सम्पती रहेको बताउनु भयो । सानो उमेरमै लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन बलिदान गरेका युवाहरूको योगदान केवल राजनीतिक स्मृतिमा सिमित हुन नहुने उहाँको भनाई छ । पार्टीमा लागेका व्यक्तिको सफलताको मापदण्ड पद र राजनीतिक नियुक्तिलाई मात्र बनाउन नहुने उहाँले बताउनु भयो । सांसद, मन्त्री, प्रधानमन्त्री वा पार्टीको जिम्मेवारी प्राप्त गरेपछि मात्र जीवन सफल भएको मान्ने प्रवृत्तिले लामो समय पार्टीमा योगदान गरेका तर पद नपाएका कार्यकर्ता र तिनका परिवारको योगदानलाई अवमूल्यन गर्ने उहाँको भनाई छ ।
उहाँले नेपाली काँग्रेसका पुराना नेता तथा कार्यकर्ताको योगदान अभिलेखीकरण गर्न पार्टीले विशेष अभियान अघि बढाएको पनि जानकारी दिनुभयो । पार्टी कार्यालयलाई नेपाली काँग्रेसको स्थापना कालदेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गर्ने उहाँको भनाई छ । पार्टी कार्यालय प्रवेश गरी अर्को गेटबाट निस्कँदासम्म आगन्तुकले काँग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीको भुमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उहाँले बताउनु भयो । देशका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गर्ने उहाँको भनाई छ ।
सभापति थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने पनि जानकारी दिनुभयो । उक्त कोषबाट विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनु भयो । अक्षयकोष स्थापनाको काम यसै वर्षदेखि नै शुरु गरिने उहाँको भनाई छ । उहाँले पार्टीका ऐतिहासिक व्यक्तित्वहरूको स्मृति र सम्मानका कार्यक्रम अबदेखी पार्टी कार्यालयमै गर्ने पनि जानकारी दिनुभयो ।




