काठमाडौँ ।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालयमा धर्ना दिएको छ । आईतवार काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारहरूले सांकेतिक धर्ना दिएका हुन् । धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने, सूचनामा अंकुश लगाउने र पत्रकारलाई पक्राउ गर्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रेस काउन्सिलसम्बन्धी संशोधन अध्यादेशमार्फत पत्रकारको लेख्ने अधिकारसमेत खोस्न खोजिएको बताउनु भयो ।




