सामाजिक संघ संस्थालाई अख्तियारको दायरामा ल्याउन सकिएला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सामाजिक संघ संस्थालाई अख्तियारको दायरामा ल्याउन सकिएला !

काठमाडौं,२६ चैत्र । सांसदहरुले सामाजिक संघ, संस्था भित्रको आर्थिक पारदर्शीताको विषयलाई अख्तियारको क्षेत्राधिकार भित्र ल्याउनुपर्ने माग गरेका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आईतवार बसेको बैठकमा सांसदहरुले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा आर्थिक अनियमितता हुने गरेका घटनाहरु बढ्दै गएको भन्दै संवैधानिक निकायको नियमन भित्र बाँध्नुपर्ने धारणा राखेका हुन् । नेपालको समग्र विकासका लागि दातृ निकायबाट आएको सहयोग लक्षित समूहसम्म पुग्न नसकेकाले सरकारको संवैधानिक निकायले आर्थिक पक्षको नियमन गर्ने व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा आएको सहयोगको ठूलो हिस्सा प्राविधिक सहयोग लगायत शिर्षकमा उनीहरुकै देशमा फर्किने तथा कर्मचारीको तलबमा अस्वभाविक खर्च हुने गरेको पाइएको भन्दै सांसदहरुले प्राविधि खर्च तथा कर्मचारीको तलव सुविधा सम्बन्धमा पनि सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरेका छन् ।

समितिमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु नेपालमा पिकनिक मनाउन आएजस्तो देखिएको टिप्पणी गर्नुभयो । उहाँले पहिचानको मुद्दा उठाएर धर्मप्रचार गरी सामाजिक सद्भाव खलबलाउने काम पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत हुने गरेको भन्दै अनुगमन गर्न मन्त्रालय र समाज कल्याण परिषद्को ध्यानाकर्षण गराउनु भयो । उहाँले दाताहरुको सहयोग सदुपयोगका लागि संघसंस्थालाई अख्तियारको क्षेत्राधिकार भित्र ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले सन्तुलित सहयोग नहुँदा सहयोग लिने देशलाई पनि घाटा हुने भन्दै सही क्षेत्रमा सहयोग र सही प्रयोगबारे सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सामाजिक संघ, संस्थाहरु पहिचानको मुद्दा लिएर समुदायमा जानुहुन्छ । पहिचान छोड्नु भएन भनेर आन्दोलित बनाउनु हुन्छ । केही दिन पछाडि त्यहाँ बाईबल लिएर पुग्नुहुन्छ । बाईबल हातमा थमाएपछि उसको पहिचान रहन्छ कि रहँदैन ? पहिचानको मुद्दा भोलिपल्ट बाईबलमा कन्भर्ट भईसकेपछि उसको पहिचान बाँकि रहन्छ ? के हाम्रो देशका सामाजिक सदभाव, सामाजिक एकता, सामाजिक सहिष्णुता, ठिक छ सहयोग गर्नुभएको होला उहाँहरुले । तर कहिलेकाँही सहयोग पनि सन्तुलित भएन भने हामीलाई घाटा हुन्छ । त्यो हेर्नुपर्छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु पिकनिक मनाउन आए जस्तो देखिन्छ । आफैँ खाने । फर्किने । वनभोज जानेहरु सामान लिएर जान्छन्, खाएर फर्कन्छन् । त्यस्तै जस्तो पनि देखिन्छ । किनभने त्यही देशमा त त्यो मिल्दैन । त्यो देशमा यो मुद्दा छैन, नेपालमा चाहीँ छ । यस विषयमा पनि अलि ध्यान दिनुपर्छ ।

तपाईहरुको (समाज कल्याण परिषद्) मोनिटरिङ सही छ ? एनजिओ, आईएनजिओहरु करेक्ट छन् ? उहाँहरु पारदर्शीको कुरा गर्नुहुन्छ तर तलव भन्न हुन्न । आफ्नो तलव नभन्नेले पारदर्शीताको पाठ पढाएर कसले सुनिदिन्छ ? एनजिओ, आईएनजिओहरुमाथि पनि हाम्रो अख्तियारले हेर्नुपर्छ । दाताहरुबाट ल्याएको पैसा दुरुपयोग भयो भने इमेज राम्रो हुँदैन । ’

त्यसैगरी सांसद शोभा ज्ञवालीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीको तलबमा नेपाल सरकारले सिमा निर्धारण गर्नुपर्ने बताउनु भयो । ठूलो रकम तलबमा खर्च भई लक्षित वर्गसम्म सहयोग नपुग्ने गरेको भन्दै उहाँले सिमा निर्धारण गरी पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । कतिपय संस्थाहरुले गरिब र दिनदुःखी बालबालिका र महिलाको फोटो छापेर संस्थालाई कमाई खाने भाँडो बनाउने गरेको भन्दै त्यसतर्फ मन्त्रालय र परिषद्को ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो ‘काठमाडौंमा बस्ने, पहुँचको आधारमा प्रपोजल बनाउने, ग्रामिण क्षेत्रका विपन्न वर्गका महिला, बच्चा वा अपांगता भएकाहरुको नांगा फोटाहरु फोटा राख्ने । अनि यही काठमाडौं बसेर कीर्ते रिपोर्ट बनाएर पैसा ल्याएर काम गरेको चाहीँ सम्बन्धित पक्षलाई झुक्याउने काम नै हो जस्तो लाग्छ । यसलाई नियन्त्रण गर्न यहाँहरुले के गर्नुभएको छ ? कसरी यसको नियन्त्रण गर्नुहुन्छ ? अर्को कुरा आईएनजिओ, एनजिओमा काम गर्ने कर्मचारीहरुको ४ लाखसम्म तलव हुन्छ । नेपाल सरकारका मुख्य सचिवको, सचिवहरुको भन्दा धेरै हुन्छ । त्यो नेपाल सरकारले किन स्वीकृत गर्छ ? तलतल दुःख गर्नेको चाहीँ तलव थोरै हुन्छ । लक्षित वर्गमा बजेट पुग्दैन । गरिवी निवारणको नाममा, लैंगिक हिंसाको नाममा, बच्चाहरुको नाममा थुप्रै कार्यक्रमहरु त हुन्छन् । तर लक्षित वर्गमा पुगिरहेको हुँदैन ।’

त्यसैगरी सांसद सुशीला सिर्पालीले आफूलाई सामाजिक संघसंस्था भन्दै दैनिक रुपमा चन्दा उठाउदै गरिब दुःखी र अनाथको नाममा ठगी गर्ने गरेको भन्दै त्यस्ता संस्थालाई नियमन गरी कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले नेपालको गरिबी, अशिक्षा र अनाथका नाममा ठगि धन्दा गर्ने सामाजिक संस्थाहरुलाई नियमन गरि कारवाहीको दायरामा याउन नियमनकारी निकाय समाज कल्याण परिषद्लाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ अनुगमनका लागि टिओआर बनाएर अघि बढ्छौँ भन्ने कुरा आएको छ । पारदर्शी र लक्षित वर्गमा खर्च नभएको कुरा हामीलाई पनि अनुभुति भएको छ । जुन उद्देश्यका साथ रकम लिएका हुन्छौ, त्यो उद्देश्यमा खर्च भईराखेको हुँदैन । हामीले मूल्यांकन गर्ने हो भने संघ, संस्थाले जुन उद्देश्यले त्यो संघ, संस्था खोलेको हुन्छ, मापदण्ड अनुसार नभए रेजा लगाउने गरेको छ कि छैन ? मिडियामार्फत हामी के सुन्छौ भने ६ महिना पहिला अनाथ बच्चा ल्याउँछौं । मिडियाबाजी गरिसकेपछि केही डोनरहरु सो घटनालाई देखेर प्रभावित हुन्छन् । केही समयपछि त्यो बच्चालाई जस्तो अवस्थामा छ, त्यही अवस्थामा लगेर छोडिदिन्छौं । यसरी हामीले संस्थाको आयस्रोतको माध्यम पनि बनाएका छौ । त्यसकारण सामाजिक सेवा गर्ने भनेर खोलिएका संस्थाहरुबाट भईरहेको चन्दा संकलनतर्फ पनि अनुगमन हुनुपर्छ । ’

समितिले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुको नियमन तथा अनुगमका सम्बन्धमा बुझ्न महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसहित नियामक निकाय समाज कल्याण परिषद्का सदस्य सचिवलाई बोलाएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);