हंगेरीको गोडोलोमा मंगलवार सम्पन्न भिसेग्राद समूहका नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने र युरोपेली संघसँग सम्बन्धित मामिलाहरूमा समन्वय प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मेलनमा हंगेरीका प्रधानमन्त्री पिटर माग्यर, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले भी–४ लाई अझ सशक्त बनाउने संकल्प दोहो¥याउनुभएको छ । नेताहरूले युरोपेली नीतिहरू निर्धारण गर्न र साझा क्षेत्रीय हितलाई प्रवद्र्धन गर्न यस समूहले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हंगेरीका प्रधानमन्त्री माग्यरका अनुसार, युरोपेली परिषद्का बैठकहरू अगाडि नियमित परामर्श गर्ने र साझा चासोका विषयहरूमा एकीकृत धारणा बनाउने सहमति भएको छ । उहाँले चार राष्ट्रबीच केही मतभिन्नता भएपनि एकताका आधारहरू बढी सशक्त रहेको उल्लेख गर्दै व्यावहारिक सहयोगका लागि सबै पक्ष प्रतिबद्ध रहेको बताउनु भयो ।
शिखर सम्मेलनका क्रममा युरोपेली संघको आगामी सात वर्षे बजेटका बारेमा समेत विस्तृत छलफल भएको छ । मध्य युरोपेली देशहरूका लागि निकै महत्त्वपूर्ण मानिने कोहेजन पोलिसी साझा कृषि नीतिलाई यथावत राख्नुपर्नेमा नेताहरूबीच साझा मत देखिएको छ । सोही अवसरमा क्षेत्रीय कनेक्टिभिटीमा सुधार ल्याउन वार्सा, प्राग, ब्रातिस्लाभा र बुडापेस्टलाई जोड्ने उच्च गतिको रेल सेवाको प्रश्ताव समेत प्रश्तुत गरिएको छ ।
भी–४ को चक्रीय अध्यक्षता सम्हालेको स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो कार्यकालका लागि प्रतिष्पर्धात्मकता, आप्रवासन, ऊर्जा नीति र क्षेत्रीय सहयोगलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गर्नुभएको छ ।
यसैगरी, सम्मेलनले भी–४ संरचनाभित्र सांस्कृतिक र नागरिक समाज तहमा हुने आदानप्रदानलाई निरन्तरता दिने महत्वमा जोड दिएको छ । बैठकमा भी–४ प्लस ढाँचाको भविष्यका बारेमा पनि छलफल भएको थियो । जसअन्तर्गत आवश्यकता र विषयवस्तुका आधारमा युरोपेली संघ बाहिरका मुलुकहरूलाई समेत साझेदारका रूपमा सहभागी गराउन सकिने प्रधानमन्त्री माग्यरले स्पष्ट पार्नुभयो ।




