काठमाडौँ ।
हंगेरी र जर्मनीले दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने सहमति गरेका छन् । हंगेरीका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अनिता ओर्बान र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच सोमबार बुडापेस्टमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशले बलियो, सुरक्षित र प्रतिष्पर्धी युरोप निर्माणमा संयुक्त रूपमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । वार्ताका क्रममा हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यारको आगामी नोभेम्बर ९ र १० मा हुने बर्लिन भ्रमणको तयारी शुरु भइसकेको जानकारी दिइएको छ । दुवै देशले हंगेरी–जर्मन फोरमलाई थप प्रभावकारी बनाउने, विदेश मन्त्रालयबीच नियमित परामर्श सञ्चालन गर्ने तथा युवा कुटनीतिज्ञबीचको आदानप्रदान विस्तार गर्ने सहमति गरेका छन् । साथै, थिंक ट्यांकहरूबीच सहकार्य बढाउने र सन् २०२८ मा जर्मन–हंगेरी सांस्कृतिक वर्ष आयोजना गर्ने सम्भावनाबारे अध्ययन गर्ने सहमति भएको छ । आर्थिक सम्बन्धका विषयमा दुवै मन्त्रीले द्विपक्षीय सहकार्यले विशेषगरी अटोमोबाइल उद्योगमार्फत दुवै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी दिनमा सहयोग विस्तार गर्ने प्रतिवद्धता जनाए । उनीहरूले युरोपेली संघ (ईयू) को एकल बजारलाई थप मजबुत बनाउने, युरोपेली औद्योगिक प्रतिष्पर्धात्मकता बढाउने तथा ऊर्जा सुरक्षाका लागि समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिए । आप्रवासनका विषयमा हंगेरी र जर्मनीले आफ्नो क्षेत्रले ठूलो दबाब सामना गरिरहेको बताएका छन् । अवैध आप्रवासन रोक्नु तथा ईयूको वाह्य सीमा सुरक्षालाई थप मजबुत बनाउनु दुवै देशको साझा लक्ष्य रहेको उनीहरूले बताएका छन् । दुवै पक्षले ईयूको विस्तार र पश्चिमी बाल्कन क्षेत्रको एकीकरणप्रतिको प्रतिवद्धता पनि दोहो¥याएका छन् । साथै, कानूनी शासनलाई थप मजबुत बनाउने प्रयासअन्तर्गत हंगेरी हालै युरोपेली सार्वजनिक अभियोजन कार्यालयमा आवद्ध भएको विषयलाई पनि महत्वपूर्ण कदमका रूपमा उल्लेख गरिएको छ ।




