एमालेभित्र स्पष्टिकरणको सवाल जवाफः पार्टी तल्लो तहसम्म बिभाजनको रेखामा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

एमालेभित्र स्पष्टिकरणको सवाल जवाफः पार्टी तल्लो तहसम्म बिभाजनको रेखामा

काठमाडौं, १४ फागुन । सत्तारुढ दल एमालेमा यतिबेला स्पष्टिकरण प्रकरण चर्चामा छ । पार्टीभित्र अराजकता निम्त्याएको र पार्टी अनुशासनलाई नै लत्याएको भन्दै पार्टीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत अन्य तीन जनालाई पार्टीका तर्फबाट तीन दिने म्याद सहित स्पष्टिकरण सोधिएको थियो । अहिले नेपाल लगायतका नेताहरुले दिएको प्रतिउत्तरकै कारण यतिबेला एमालेको आन्तरिक राजनीतिमा तरंग त ल्याएकै छ । योसँगै एमालेभित्रको विवाद झनै उत्कर्षमा पुगेको विश्लेषण समेत हुन थालेको छ ।

शुक्रबार बसेको एमाले संसदीय दलमा पनि पार्टीले नेताहरुविरुद्ध उठाएको कदमले चर्चा पाएको थियो । असन्तुष्ट खेमाको नेतृत्वमै रहेका अर्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत असन्तुष्ट पक्षका सांसदहरुले संसदीय दलको बैठकमा स्पष्टिकरण प्रकरणलाई लिएर जाहेर गरेको असन्तुष्टि र बैठकमा प्रयोग गरेको चेतावनीयुक्त भाषाले पनि एमाले भित्रको विवाद यसै सकिने छाँट भने देखाएको छैन ।

असन्तुष्ट पक्षले संसदीय दल बैठकमा संस्थापन पक्षका विरुद्धमा आक्रोश पोखिरहँदा संस्थापन पक्षले भने पार्टीभित्रको गुटबन्दी किमार्थ पनि स्विकार्य नहुने र विधि प्रक्रिया अनुसार भएका निर्णयबाट पार्टी पछाडि फर्कन नसक्ने अडानलाई नै निरन्तरता दिएपछि पार्टीभित्रको विवाद झनै चर्को रुपमा जाने निश्चित देखिएको छ । पार्टी अनुशासन, विधिलाई लत्याएर पार्टीभित्र हुर्काइएको अराजकता र गुट चिन्तनका विरुद्धमा पार्टीले उठाएका कदमलाई कार्यकर्ता समेतले समर्थन दिएकै कारण पनि संस्थापन पक्ष आफ्नो निर्णयबाट पछि हट्ने सम्भावना पनि क्षीण हुँदै गएको देखिएको हो ।

नेकपा एमालेभित्रको पछिल्लो किचलोका मुख्य योजनाकारका रुपमा देखिएको ठहरसहित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोधेका थिए । पार्टीका चार प्रभावशाली नेताहरुलाई सोधिएको यो स्पष्टिकरणको जवाफ दिने क्रममा उल्टै आरोपित नेताहरुले नेतृत्वमाथि नै प्रश्न उठाएर विवादलाई अझै तन्काउने प्रयासका रुपमा यो प्रकरण अगाडि बढेको छ ।

पार्टीले नेपाल लगायतका नेताहरुलाई पार्टी विधान विपरीतका गतिविधि गरेको, पार्टीमा गुटबन्दीलाई प्रश्रय दिएर कार्यकर्तालाई नै विभाजित गर्न खोजेको भन्दै स्पष्टिकरण सोध्दै गर्दा उल्टै नेतृत्वलाई नै विधान मिचेको लफ्फाजी जोड्दै नेतृत्वलाई जवाफ फर्काउने जुन शैलीको प्रयोग नेपाल पक्षले गरेको छ, त्यसबाट उनीहरु नै पार्टी भित्रको विवाद सुल्झाउन भन्दापनि बल्झाउन मै सक्रिय हुन् कि भन्ने नयाँ सवाल खडा भएको छ । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ जुन शैलीबाट आएको छ, त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई विवादित र विभाजित बनाई राख्ने मनशायलाई स्पष्ट पारेको छ ।

नेतृत्वसँग पार्टीलाई कसरी जिवन्त बनाउने, के कस्ता निर्णय गर्दा पार्टीले लोकप्रियता सहितको बलियो जनाधार निर्माण गर्दछ भन्ने सोच सहितको चिन्तन हुनै पर्दछ । र त्यसलाई अवलम्बन गर्दा पार्टीले स्विकार नगरेको तर अस्तित्वमा रहेको गुट स्वार्थलाई कस्तो असर पर्ला वा अमुक नेतालाई त्यसले कस्तो असर पर्ला भनेर निर्णय नै नगर्नु भनेको उसको अदक्षता नै हो । यसबाट अलग रहेर कोही पार्टी हितका लागि कठोर बन्दै निर्णयमा पुग्दछ भने अप्रिय नै सहि त्यो कदम स्विकार्य हुनै पर्दछ । तर, एमाले भित्रको पछिल्लो राजनैतिक घटनाक्रममा भने नेतृत्वले निर्णय नै गर्न नपाउने शैलीमा जसरी पत्रको प्रत्युत्तर आयो त्यो भने स्वयं एमालेकै हितमा नरहेको स्पष्ट छ ।

पार्टीलाई विभाजनको मुखसम्मै पु¥याउने गतिविधिमा संलग्न नेताहरु यतिबेला नेतृत्वकै अस्तित्वमाथि धावा बोलिरहेको देखिएको छ । पार्टी भित्र समानान्तर गतिविधि हुँदै जानु, गुट परस्त राजनीति पार्टीको केन्द्र देखि स्थानीय तहसम्मै पुग्नुले पार्टी क्षयीकरणको दिशातर्फ बढी रहेको स्थितीमा नेतृत्वले खै गर्नु स्वभाविक नै हो । तर यतिबेला आफुलाई स्पष्टिकरण सोधिएको झोंक फेर्नैका लागि आरोपित पक्षले नेतृत्वलाई नै कारवाही गर्नु पर्ने भन्दै उल्टै जोरी खोज्ने ढंगको प्रतिउत्तर पार्टीमा बुझाउनुले उनीहरु पार्टीलाई एक ढिक्का बनाएर लैजाने पक्षमै नरहेको स्पष्ट भएको छ ।

पार्टीले विगतमा नेकपा एक रहेकै अबस्थामा पार्टी संस्थापन पक्ष र पार्टीकै हित विपरितका काममा संलग्न समुहसँगै मिलेर पार्टी र मुलुककै हित विपरित काममा संलग्न रहेकोमा आपत्ती जनाउँदै त्यसलाई स्पष्ट पार्न मात्रै नेपाल पक्षलाई बताएकोमा यसैलाई यतिबेला नेपाल पक्षले विवादको केन्द्रमा लैजानुलाई पक्कै पनि पार्टीको हितमा हेरिएको छैन । र विवादलाई नै निरन्तरता दिएर पार्टीलाई नै कमजोर बनाउँदै जाने आरोपित पक्षको पछिल्लो कदम क्षम्य पनि छैन ।

Leave a Reply

ताजा समाचार