नेपाल समूहको अबको गन्तब्य के होला ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपाल समूहको अबको गन्तब्य के होला ? (भिडियाेसहित)

गत चैत ५ र ६ गते सानेपाको हेरिटेज गार्डेनमा माधवकुमार नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलाको अपेक्षा विपरीत पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका कदम एक अगाडि बढेपछि यतिबेला नेपाल समूह विलखबन्दमा परेको अन्दाज गर्न सकिन्छ । भेलाले ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन गर्दै जाने कार्यक्रम तय गरे लगत्तै शनिबार नै बसेको एमाले संसदीय दलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पार्टीमा सर्वशक्तिमान बनाउने निर्णय गरेपछि विरोधी खेमाको रणनीति नै यतिबेला भुत्ते बन्न पुगेको छ ।

नेपाल समूहको भेलाले पार्टी भित्रै संघर्ष चर्काउने भन्ने रणनीति पास गरिरहँदा,प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पुनःस्थापित गर्ने अपेक्षा राखेको स्पष्ट हुन्थ्यो । तर, प्रधानमन्त्रीको पछाडि फर्केर हेर्ने स्वभाव नरहेकै कारण नेपाल पक्षको उक्त अपेक्षा पूरा हुनु त परको कुरा उल्टै आफ्नै पूर्व घोषणा यतिबेला नेपाल पक्षका लागि गलपासो साबित हुन पुगेको देखिन थालेको छ ।

शनिबारको ओली पक्षीय सांसदहरुको उपस्थितिमा बसेको संसदीय दलको भेलाले पार्टीका महत्वपूर्ण अधिकार नै ओलीलाई सुम्पिएर नेपाल लगायत केही नेताहरुलाई पार्टी गतिविधि विपरीत कामहरु गर्दै हिंडेको भन्दै स्पष्टिकरण नै सोध्ने तहको निर्णय समेत गरिदियो । र सोमबार नै पार्टीका तर्फबाट सोधिएको स्पष्टिकरण पत्र सम्बन्धित नेताहरुले बुझिसकेको अवस्था छ । र यो घटना यतिबेला, २०४६ यता मुलुक खुला राजनीतिक वातावरणमा प्रवेश गरे यताकै एमालेभित्र भएको पहिलो ठूलो कारवाही बन्न पुगेको छ ।

अनि यसको शिकार यतिबेला १५ वर्षसम्म पार्टीको नेतृत्व गरेका पार्टीका पूर्व महासचिव र अध्यक्ष माधवकुमार नेपाल बनेको स्पष्ट भएको छ । फागुन २८ को निर्णय फिर्ता गराउन ओलीमाथि दबाब बढाउने नियतले अगाडि बढेको नेपाल समूह यतिबेला आफैंले खनेको भड्खालोमा जाकिन पुगेको छ । अध्यक्ष ओलीले फागुन २८ गतेको पार्टी निर्णय फिर्ता लिने सवालमा आफ्नो स्पष्ट अडान सार्वजनिक गरिसक्नुभएको छ । उहाँले आफू विरुद्धको मोर्चामा बसेका नेताहरुलाई रुखो शब्दमै भन्नुभएको छ, ‘पार्टीभित्र गुटबन्दी गर्नेलाई कुनै स्थान छैन ।’

ओलीको यो अभिव्यक्तिसँगै ओली पक्षका बहुसंख्यक सांसदहरु उपस्थित संसदीय दलको बैठकले गुटबन्दी र समानान्तर पार्टी संगठन सञ्चालन गतिविधिलाई निरुत्साहित गर्न अध्यक्षलाई नै सर्वशक्तिमान बनाउने भन्दै थप अर्को निर्णय लिएपछि भने नेपाल र उनको समूहमा आबद्ध भएका नेताहरुको पार्टी जीवन नै यतिबेला धरापमा परेको बुझ्न सकिन्छ । यस्तोमा अबको बाटोका सम्बन्धमा नेपाल समूहले निर्णय लिनु पर्ने अवस्था पनि आईपुगेको छ ।

नेपाल पक्षको रणनीतिलाई नै भेदन गर्ने उद्देश्यले अध्यक्ष ओलीले फ्याँकेको पाशा हेर्दा एमाले भित्र रणनीतक युद्धमा नेपालका तुलनामा ओली र उनको समूह बढी चतुर देखिएको छ । आफ्ना विरोधीले चाल्न सक्ने हरेक चालबारे ओली र उनको समूहले पहिल्यै अनुमान लगाएर त्यसको काट तयार पार्न आफूलाई तयार अवस्थामा राखेको एमालेमा हालसम्म चलेका राजनैतिक चाल र तिनको प्रतिकार शैलीले पनि बताएको छ ।

अध्यक्ष ओलीका अहिलेका हरेक कदम सुनियोजित र सुझबुझपूर्ण देखिएका छन् भने माधव पक्ष यो मामिलामा कमजोर असहाय बन्दै गएको देखिएको छ । जसले यतिबेला नेपाल निकट समूह राजनैतिक रुपले नै सकसपूर्ण अवस्थाको सामना गर्न बाध्य भैरहेको छ । पछिल्लो समय पार्टी संस्थापन पक्षसँग कुनै शर्तमा पनि नझुक्ने सार्वजनिक अभिब्यक्ति दिंदै आउनुभएका नेपालले आफ्नो राजनैतिक जीवनबारे निर्णय गर्नुपर्ने देखिएको छ ।

उहाँसँग यतिबेला दल नै त्याग्ने वा एमालेमै रहेर राजनीति गर्ने हो भने संस्थापन पक्षबाट चालिने कदमलाई एकाकार भएर साथ दिनु बाहेकको अर्को विकल्प देखिएको छैन । अरुका लागि खनिएको खाल्डोमा आफैं परिन्छ भन्ने भनाई यदि कतै चरितार्थ भएको छ भने त्यो अहिलेको एमालेको राजनीतिमै भएको छ । केपी ओलीलाई गलत्याएर सत्ता र पार्टी नेतृत्वबाटै निकाल्ने अभियान नै चलाएका नेपाल र उनको समूहमा आबद्ध नेताहरु यतिबेला आफ्नै पहिचान जोगाउने धपेडीमा परेका छन् । समयक्रमले पाशा उल्टाई दिए लगत्तै यतिबेला चित खाएका नेपाल पक्षको आगामी रणनीतिको समेत प्रतिक्षा गर्नु पर्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);