नेताकै हठका कारण अप्ठेरोमा परेको एमाले पार्टी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेताकै हठका कारण अप्ठेरोमा परेको एमाले पार्टी (भिडियाेसहित)

एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपासँगै नेपालको कम्युनिष्ट आन्दोलन सुदृढ भएर जाने र नेकपा एउटा अनुशासित पार्टी बन्ने आम अपेक्षा थियो । तर अपेक्षा विपरीत पार्टी भित्रै गुटबन्दी र अराजकताको स्थितिले अन्ततः पार्टी विघटनको स्थितिमा आइपुग्यो । यतिबेला बिगतको नेकपा चार चिरामा विभाजित अवस्थामा देखिएको छ । नेकपामा सम्मिलित माओवादी घटक आफ्नो अलग्गै राजनीतिक गतिविधि सञ्चालन गरिरहेको छ ।

यस्तै हिजोको एमाले नेतृत्व आज पार्टी संस्थापन पक्ष बनेको छ भने असन्तुष्ट गुटको नेतृत्वमा माधवकुमार नेपाल पक्ष र एकता अभियानका नाममा वामदेव गौतम गरी तीन पक्षमा विभाजित बनेको छ । विगतमा अनुशासित र सुदृढ पार्टीको कल्पना गरेर एकीकृत भएको कम्युनिष्ट पार्टी यतिबेला नेताहरुकै महत्वाकांक्षा र आत्म केन्द्रित प्रवृत्तिका कारण तहसनहस बन्न पुगेको छ ।यतिबेला सत्तारुढ दल एमालेभित्रको विवादकै कारण मुलुकको सिंगो राजनीति नै अन्योलको अवस्थामा पुगेको छ ।

सर्वोच्च अदालतपछि आफ्नो अलग अस्तित्व स्वीकारेको माओवादी कोटेश्वरको पेरिसडाँडामा रहेको पुरानै थातबास सम्हाल्न पुगेको छ । तर माओवादी समूहसँगै एमालेका पूर्व अध्यक्ष समेत रहिसकेका नेताहरु माओवादीकै पुच्छर समातेर पेरिसडाँडा तर्फ नै सोझिएपछि भने एमालेभित्रको विवादले उत्कर्ष रुप लिएको हो । एमाले भित्रै नवौं महाधिवेशनमा बहुमतबाट भएको निर्णय नै अस्विकार गर्दै आएका माधवकुमार नेपाल लगायतको समूहले पछिल्लो पटक आफ्नो उक्त अस्विकृत मान्यतालाई नै पार्टीमा स्थापित गर्न खोजिरहेको देखिन्छ ।

सोही उद्देश्यले पार्टी भित्र विकसित भएको गुट राजनीतिलाई नै पछिल्लो घटनाक्रममा समेत जोडिदिनाले यतिबेला एमालेभित्र अप्ठेरो अवस्था सिर्जना भएको हो । एमाले पार्टीभित्रका बिगतका अभ्यास, पार्टी सञ्चालन विधि र एमालेले स्विकार गरिएको भनिएको संगठन पद्धतिका हिसाबले पनि संस्थापन पक्षका विरुद्धमा विद्रोहको बिगुल फुक्ने नेताहरुका गतिविधिलाई सही मान्न सकिने अवस्था छैन । त्यसमाथि समानान्तर संगठन निर्माण गरेर अगाडि बढ्ने उनीहरुको उद्घोषले एमालेलाई औपचारिक रुपमै विग्रह र फुटको दिशातर्फ धकेल्न प्रेरित गरिरहेको छ ।

एकताको खारेजीसँगै सिर्जना भएको यो नयाँ परिस्थितिमा नेतृत्वमा रहेका सबै नेताहरुको समवेत् प्रयास र सोच, अब एमालेलाई कसरी नयाँ ढंगले अगाडि लैजाने र कसरी यसलाई लोकप्रिय पार्टी बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा त्यस्तो भने देख्न पाईएको छैन । पार्टी भित्र हिजो गुटमा रमाएकाहरु आजको यो नयाँ परिस्थितिमा पनि त्यसैलाइै सदर गरेर बसेका छन् । पार्टीको बैठकमा नआउने, आफ्ना छुट्टै भेला गर्ने र त्यसैका आधारमा संस्थापनले निर्णय गरिदिनु पर्ने भन्ने जुन शैलीलाई यतिखेर नेपाल पक्षले अभ्यासमा लाने प्रयास गरिरहेको छ, त्यसले पक्कै पनि एमालेलाई एक ढिक्कामा राखिराख्न सम्भव देखिंदैन ।

पार्टी भित्र विमतिहरु हुन्छन्, विचार र सिद्धान्तमा बहस विवाद हुन्छन्, तर एमालेमा हालसम्म भएका अभ्यासले बहुमतको जे निर्णय हुन्छ, त्यसलाई विमति राख्नेहरुले पनि शिरोधार्य गर्दै आएको पाईन्छ । यस्तोमा अभ्यास र परम्पराकै विरुद्ध ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने हठ भने सही हैन । फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाको विघटनसँगै एमाले र माओवादी केन्द्रलाई अलग गरिदिए लगत्तै एमालेमै रहेका कतिपय प्रभावशाली नेताहरुले गरिरहेका गतिविधिले पार्टीमा विकसित हुँदै गएको चरम अनुशासनहीनतालाई उजागर गरिदिएको छ ।

विशेषगरी एमाले मुख्यालयतर्फ हेर्दै नहेरी माओवादी मुख्यालयमा माओवादीकै लहरमा बसेर बैठक गर्नु, आफ्नै पार्टीले बोलाएको स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठकमै उपस्थित नभई समानान्तर बैठक गर्दै हिंड्नुले समस्या बढाउने नै काम गरिरहेको छ । लामो समय एमालेकै नेतृत्वमा रहेका र एमाले पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका नेपाल लगायतका नेताहरु यतिबेला एमाले पार्टी नै विखण्डन गर्ने अभियानमा संलग्न भएका छन् ।

पार्टी संस्थापन पक्षसँगको उनीहरुको यो विद्रोहमा कुनै वैचारिक र सैद्धान्तिक असहमति भने देखिएको छैन । मुलतः पार्टी र सरकारमा भागबण्डा नपुगेको तहमै यतिबेला पार्टी भित्र विवाद सिर्जना भएको स्पष्ट भईसकेको छ । कुनै अहम् मुद्दामा केन्द्रित हुन नसकेको यो विवाद अन्ततः पार्टी फुटकै कारण बन्न सक्ने देखिएकै कारण पार्टी नेतृत्वले विद्रोहलाई बढावा दिंदै आएका नेताहरुमाथि स्पष्टिकरण नै सोध्नु पर्ने स्थिति पक्कै पनि प्रिय भने हैन । तर यो अप्रिय कदम उठाउन यतिबेला संस्थापन पक्ष बाध्य भएको छ ।

यस्तोमा विगतका सबै झिनामसिना कुरालाई ताकमा राखेर आफ्ना असहमतिलाई पार्टी भित्रै बहसको विषय बनाउने, तर पार्टीलाई एक ढिक्का मै राख्ने पक्षमा जानुको विकल्प यतिबेला नेपाल पक्षसँग छैन । नेकपामा जुन प्रवृत्तिले निरन्तरता पाएको थियो, त्यसैलाई एमालेभित्र पनि निरन्तरता दिनु भनेको नेपाल पक्षका लागि आत्मघाती त छँदै छ, त्यसले सिंगो पार्टीलाई पनि हित गर्दैन । यो कुरामा नेपाल समूह सहमत हुनैपर्दछ । नेकपामा हुँदाको समस्याले यतिबेला नेपाल समूहलाई नै गलत ठाउँमा उभ्याईदिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);