बिग्रेला है रुघाखोकी! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिग्रेला है रुघाखोकी!

rughakhoki

काठमाडौं, १० कात्तिक । केही सातादेखि मौसमी रुघाखोकी फैलिरहेकाले सतर्क हुन चिकित्सकहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा यसको प्रकोप फैलिरहेको उनीहरूले बताएका छन्।

रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल आउनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले जनाएका छन् । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार दैनिक औसत २५ बिरामी उपचारमा आउने गरेका छन् । यस्ता बिरामी नियमित भन्दा १५ प्रतिशतले बढिरहेको वीर अस्पताल मेडिकल विभागले जनाएको छ।

धेरैजसो बिरामी नजिकका मेडिकल तथा निजी अस्पताल जाने कारण सरुवा रोग अस्पतालमा सबै आइनपुगेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए । ‘बिरामीको नियमित स्थिति हेर्दा मौसमी रुघाखोकी धेरै नै फैलिसकेको देखिन्छ,’ उनले भने।

गर्मी सकिने र जाडो सुरु हुने संक्रमणकालीन समयका कारण मानिसहरूले न्यानो लुगा नलगाउँदा, वर्षात् सकिएकाले धुलो उड्न थालेको तथा दसैंका कारण मानिसको आवतजावत बढेका कारण पनि मौसमी रुघाखोकी बढेको वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैर बताउँछन्।

मेडिकलबाट किनेर जथाभाबी औषधि खाने र निको नभएपछि मात्र अस्पताल वा चिकित्सककोमा आउने बिरामी धेरै भएको उनले बताए । मौसमी रुघाखोकीलाई सामान्य ठानेर जथाभाबी औषधी खाँदा स्वास्थ्यमा उल्टो असर पर्ने डा. गैरे बताउँछन्।

लक्षणहरू
– सुक्खा खोकी लाग्ने
– ज्वरो आउने
– घाँटी दुख्ने
– आँखा दुख्ने
– टाउको दुख्ने
– रुघा लाग्ने

कसरी बच्ने ?
– सकेसम्म हुलमुलमा नजाने
– जानै परे मास्कको प्रयोग गर्ने
– रुघाखोकी लागेका व्यक्तिबाट टाढा बस्ने
– सार्वजनिक शौचालय तथा सवारीसाधन प्रयोग गरेपछि राम्रोसँग हात धुने
– हात धुनुअघि नाक, आँखा र मुख नछुने
– धुलो–धुवाँबाट बच्ने
– चिकित्सकको सल्लाहमा मात्र औषधि खाने

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);